काठमाडौं । नेपालले अमेरिकासँग गर्ने तयारी गरिरहेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताले पुनः एक पटक नेपालको कूटनीतिक माहोल तात्तेको छ । सडकदेखि सदनसम्म चर्को वहस भइरहेको यस विषयमा मंगलबार अमेरिकी दूतावासले समेत स्पष्टिकरण दिएको छ । अमेरिकाले यस प्रोग्राममा सामेल हुन कुनै देशलाई नभनेको बताएको छ ।
यो कार्यक्रमका लागि कुनै देशबाट माग भएमा भने सम्बोधन गर्ने गरेको दूतावासले स्पष्ट पारेको छ । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे नेपालका विपक्षीसँगै सत्तारुढ दलहरुले प्रश्न उठाएका छन् । त्यही बेला अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेको छ, ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम हो ।
अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद् विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ ।’ आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्को अवस्थामा नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहेको भन्दै दूतावासले भनेको छ, ‘यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम हो ।’