अमेरिका चीन व्यापार युद्ध चर्कियो, भन्सारदर बढाउने होडको मारमा शेयर बजार

न्यूयोर्क
चीनसँगको व्यापारिक बार्ता असफल भए लगत्तै नयाँ भन्सारदर घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनले उस्तै जवाफ फर्काएको छ । चीनले आगामी जुन देखि लागु हुने गरि ६० अर्ब डलर बराबरका अमेरिकी उत्पादनमा भन्सारदर बढाउने घोषणा गरेको हो ।

चीनसँगको व्यापार वार्ता असफल भए पछि ट्रम्पले गत साता २०० अर्ब डलर बराबरका चिनियाँ उत्पादनमा भन्सारदर बढाउने घोषणा गरेका थिए । अमेरिकाले १० प्रतिशतको भन्सारदरलाई २५ प्रतिशत पुर्याउने भएको हो ।
त्यसको जवाफ स्वरुप बेइजिङले पाँच हजार अमेरिकी उत्पादनमा भन्सारदर २५ प्रतिशतसम्म पुर्याउने जनाएको छ । कुनै उत्पादनको भन्सारदर भने २० प्रतिशत पुग्नेछ । अहिले १० या ५ प्रतिशत भन्सार तिरेर चीन भित्रि रहेका अमेरिकी उत्पादनको भन्सारदर त्यति पुग्न लागेको हो ।

व्यापार वार्ता असफल भएपछि ट्रम्पले लगातार चीनलाई दोष लगाउँदै ट्विट गरि रहेका छन् । चीनले सन् २०२० को चुनावमा डेमोक्र्याटले जितोस् भन्ने कामनाका साथ आफुसँगको डिल फाइनल नगरेकोसम्म आरोप उनले लगाएका छन् । यस्तै आफुले तोकेको भन्सारदरले अमेरिकी अर्थतन्त्रलाई फाइदा पुर्याएको उनको दावी छ । सन् २०१९ को पहिलो त्रैमासिकको आर्थिक बृद्धि तीन प्रतिशत बढि हुनुमा भन्सारदरको महत्वपुर्ण योगदान रहेको समेत उनले दावी गरेका छन् ।

अमेरिका र चीन व्यापार युद्ध चर्किँदाको ठाडो असर भने सेयर बजारमा देखिएको छ । गत साता व्यापार वार्ता असफल भएको समाचार सार्वजनिक भए देखिनै बजार घट्न थालेको थियो । ट्रम्प निर्णयको चिनियाँ प्रतिकृया सार्वजनिक भएपछि सोमबार बजारमा झनै तीब्र गिरावट आएको छ । नौ बजे खुले लगत्तै डाउजोन्स दुई प्रतिशतले घटेको थियो भने डास्डाकमा झन्डै तीन प्रतिशतको गिरावट आएको छ । अमेरिकी मात्र होइन चिनियाँ शेयर बजारमा पनि उस्तै गिरावट आएको सञ्चार माध्यमले जनाएका छन् ।