अमेरिका र बेलायत युद्ध गर्न उक्साइरहेका छन् : पुटीन

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटीनले बेलायत र अमेरिकाले युद्ध गर्न उक्साइरहेको आरोप लगाएका छन् । उनको यस्तो आरोप बेलायतको युद्धपोत ‘एचएमएस डिफेंडर’ रुसको नियन्त्रणमा रहेको क्रीमियाको सागर किनारको नजिकैबाट गएसँगै आएको हो । उनले यो कदमलाई पश्चिमा मुलुकले यूक्रेन नजिक मिलिट्री बेस स्थापित गर्ने प्रयास भएको समेत बताएका हुन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार राष्ट्रपति पुटीनले टेलिभिजनबाट आफ्ना नागरिकलाई प्रत्यक्ष कुराकानी गर्ने क्रममा यस्तो बताएका हुन् । यो घटनाबारे एक जना सहभागीले के यो तेस्रो विश्वयुद्धको संकेत हो भनेर सोधेका थिए । यसको जवाफमा पुटीनले रुस आफ्नो जमिन रक्षा गर्न लड्न सक्षम भएको बताए । तर, ती मुलुकहरु युद्ध गर्न चाहे पनि जित्न नसक्ने उनको भनाई छ ।

उनका अनुसार एक अमेरिकी जासूस विमान समेत यो अभियानमा खटिएको पाइएको छ । रुसको आरोपका सम्बन्धमा भने बेलायतले अन्तर्राष्ट्रिय कानून अनुसार नै गएको बताएको छ । बीबीसीका अनुसार रूसी लड़ाकू विमान तथा तटरक्षक बलले एचएमएस डिफेन्डरलाई निशाना बनाउने चेतावनी दिएको थियो । रूसको तर्फबाट समेत गोलाबारी भएको बताइएको छ । यो घटना गत साताको हो ।