मिनेपोलिस । अमेरिकामा एक वर्ष अगाडी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या प्रमाणित भएसँगै एक प्रहरी अधिकारीलाई अदालतले साढे २२ वर्ष जेल सजाय सुनाएको छ । अफ्रीकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या गरेको प्रमाणित भएसँगै पूर्व पुलिस अधिकारी डेरेक शोविनलाई यस्तो सजाय सुनाइएको हो । हत्यामा दोषि सावित भएका उनलाई न्यायाधीशले पूर्वपुलिस अधिकारी डेरेक शोविनले आफ्नो पद र अधिकारको गलत प्रयोग गरेको बताए ।
साथै उनले जर्जमाथि क्रुर व्यवहार देखाएको समेत न्यायधिशले बताएको बीबीसीले जनाएको छ । गतसाल मेमा मिनेपोलिसमा निहत्था अश्वेत नागरिक फ्लोयडको घाँटीमा ९ मिनेटसम्म आफ्नो घुँडा राखेका थिए । यसले उनलाई चरम यातना दिई मारिएको थियो । उनले ९ मिनेट घुँडा घाँटीमा राखेको केही मिनेट पछि नै उनको ज्यान गएको हो । यो घटनालाई प्रत्यक्षदर्शीले भिडियोमा कैद गरेका कारण उनको वास्तविकता खुलेको हो ।
यो घटनापछि अमेरिकामा अश्वेत नागरिकहरुमाथि हुने विभेदबारे कडा आलोचना भएको थियो । अमेरिकी जूरीले अप्रिलमा प्रहरी अधिकारी शोविनमाथि दोस्रो डिग्रीको हत्या र अन्य कैयौं मुद्दामा दोषि ठहर गरेको थियो । शोविनका वकिलले भने उनको मनसाय हत्याको नभएको बताएका थिए । यसलाई उनीहरुले एक दुर्घटनाका रुपमा बचाउ गरेका थिए ।

उनीसँगै अन्य तीन पूर्व पुलिस अधिकारीविरुद्ध समेत नागरिक अधिकारको उल्लंघनको आरोपमा दोषि ठहर गरिएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले फैसलाको स्वागत गरेका छन् । जर्जका परिवारले समेत फैसलाको स्वागत गरेका छन् । मुद्दा दर्ता गर्ने समयमा भने फ्लोयडका भाई टेरेस फ्लोयडले अधिकतम ४० वर्ष सजायको माग गरेका थिए ।