अमेरिकी तल्लाे सदनले पास गर्यो न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर, रिपब्लिकनहरु विपक्षमा

न्यूयोर्क
अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले कामदारको न्यूनतम तलव दोब्बर बृद्धिको प्रस्ताव पारित गरेको छ । डेमोक्र्याट बहुल सदनले प्रतिघण्टा न्यूनतम पारिश्रमिक १५ अमेरिकी डलर पुर्याउने विधेयक पास गरेको हो ।

विधेयक अब अमेरिकी संसदको माथिल्लो सदन सिनेटबाट पनि पास भएर राष्ट्रपतिले प्रमाणीकरण गरे कार्यान्वयनमा जानेछ । विधेयकमा हाल कायम प्रतिघण्टा ७.२५ डलर संघीय न्यूनतम पारिश्रमीकलाई सन् २०२५ भित्र १५ डलर पुर्याउनु पर्ने उल्लेख छ ।

डेमोक्र्याट बहुल राज्य न्यूयोर्कले यस अघिनै न्यूनतम पारिश्रमिक प्रतिघण्टा १५ डलर पुर्याइ सकेका छ । रिपब्लिकन बहुल अधिकांश राज्यले भने संघीय पारिश्रमिकलाई मान्यता दिएर आफ्नो न्यूनतम पारिश्रमिक तोकेका छैनन् । मासाचुसेट्स, क्यालिफोर्निया लगायतका डेमोक्र्याट बहुल राज्यले पनि यस अघि नै न्यूनतम पारिश्रमिक १२ डलर प्रतिघण्टा पुर्याइसक्दा रिपब्लिकन बहुल एवं अमेरिकाको सबैभन्दा ठूलो राज्य टेक्सासले न्यूनतम पारिश्रमिक तोकेकै छैन ।

अमेरिकामा डेमोक्रेटिक पार्टीले कामदारको हित र पक्षमा आवाज उठाउँदै आएको छ भने रिपब्लिकनहरु बजारलाई नै ज्याला निर्धारण गर्न दिनु पर्ने पक्षमा बोल्ने गरेका छन् । जसले पूँजीको तुलनामा श्रमको अवमूल्यन गरेको श्रमजिवीहरुको मत रहेको छ । आज हाउस अफ रिप्रिजेन्टिेटिभबाट पारित पारिश्रमिक बढाउने प्रस्तावमा पनि अधिकांश रिपब्लिकन सांसदहरु सहमत भएनन् । विधेयकको पक्षमा २३१ र विपक्षमा १९९ भोट खसेको थियो ।

अमेरिकी सिनेटमा रिपब्लिकन बहुमत रहेको र राष्ट्रपति पनि रिपब्लिकन नै रहेको कारण यो विधेयक कानूनमा परिणत हुने संभावना भने न्यून रहेको छ । सिनेट मेजोरिटी नेता मिच म्याकोनेलले माथिल्लो सदनमा यो विधेयक प्रस्तुत नगर्ने बताइ सकेका छन् । तर, यो सन् २०२० निर्वाचनको लागि राजनीतिक हरियार भने हुने निश्चित छ । डेमोक्र्याटहरुले आफुले जितेमा न्यूनतम पारिश्रमिक बढाउने प्रतिबद्धता जनाउने छन् भने रिपब्लिकनले त्यो बाटो समाजवाद तर्फको हुने तर्क गर्नेछन् ।

हाउस डेमोक्र्याटले भने आजको विधेयकलाई अमेरिकी कामदारको हितमा अभुतपुर्व निर्णय भन्दै खुसीयाली मनाएका छन् । ‘आज साँच्चिकै ऐतिहासिक दिन हो’ सभामुख न्यान्सी पेलोसीले भनेकी छिन् ।

न्यूनतम पारिश्रमिक १५ डलर पुर्याउँदा १३ लाखले रोजगारी गुमाउन सक्ने कंग्रेसकै बजेट अफिसको रिपोर्टलाई आधार देखाउँदै रिपब्लिकन सांसदले भने यो विधेयकको विपक्षमा मत दिएका दिएका थिए । रिपोर्टमा न्यूनतम तलव बृद्धिले दुई करोड ७३ लाख कामदारलाई फाइदा पुग्ने समेत उल्लेख छ । तर, त्यसप्रति भने रिपब्लिकन सांसदहरुले चासो दिएनन् । उल्टो राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति अनुसार उकालो लागेको अर्थतन्त्रमाथि प्रहार गर्न डेमोक्र्याटहरुले पारिश्रमिक बृद्धिको चाल चालेको आरोप उनीहरुले लगाएका छन् । अमेरिकामा सन् २००९ यता संघीय न्यूनतम पारिश्रमिक बृद्धि भएको थिएन । हाउस र सिनेट दुबैमा डेमोक्रेटिक बहुमत र राष्ट्रपति पनि एकै पार्टीको भएका बेला पारिश्रमिक बढाइएको थियो ।