न्यूयोर्क
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथिको महाभियोग अनुसन्धान अब कार्यान्वयनमा जाने भएको छ । यससँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट ट्रम्पमाथि महभियोग लाग्ने निश्चित भएको हो ।
विहीबार विहान पत्रकार सम्मेलन आयोजना गर्दै सभामुख न्यान्सी पेलोसीले महाभियोग प्रकृयालाई अन्तिम चरणमा प्रवेश गराउने घोषणा गरिन् । उनले संसदको न्यायीक (जुडिसियरी) समितिलाई ‘आर्टिकल अफ इम्पिचमेन्ट (महाभियोगका धाराहरु)’ तयार गर्न निर्देशन दिइकी छिन् । महाभियोग बारे सुरुमा संसदको इन्टिलिजेन्स कमिटीले अनुसन्धान गरेको थियो । कैयन् साक्षीहरुसँग वयान र अन्य स्रोतबाट अनुसन्धान सम्पन्न गरि कमिटीले न्यायीक समितिलाई प्रतिवेदन बुझाइ सकेको छ । त्यस अनुरुप समितिले बुधबार संवैधानिक कानूनका चार जना विज्ञलाई बोलाएर छलफल गरेको थियो ।
पेलोसीको यो घोषणासँगै ट्रम्प तल्लो सदनबाट महाभियोगमा पर्ने तेस्रो राष्ट्रपतिमा दर्ज हुने निश्चित भएको छ । तल्लो सदनको साधारण बुहमतले राष्ट्रपतिलाई महाभियोग लगाउन सक्छ । डेमोक्र्याटको बहुमत रहेको सदनमा ५० प्रतिशत बढि सदस्य ट्रम्प महाभियोगका पक्षमा छन् । यसअघि तल्लो सदनबाट एन्ड्रु जोन्सन र बिल क्लिन्टन महाभियोगमा परेका थिए । तर, उनीहरु दुबै जना सिनेटबाट भने पदमुक्त भएनन् । तल्लो सदनमा महाभियोग अनुसन्धान चलेका रिचार्ड निक्सनले भने सदनको फुल हाउसमा मतदान हुनु अघिनै राजिनामा दिएका थिए ।
‘दुःख र संकोच त लागेको छ तर पुर्ण आत्मविश्वासका साथ म समिति अध्यक्षलाई आर्टिकल अफ इम्पिचमेन्ट तयार पार्न आग्रह गर्न चाहन्छु’ पत्रकारहरु समक्ष पेलोसीले भनिन् । एक पत्रकारले तपाईँ ट्रम्पलाई घृणा गर्नुहुन्छ भनेर सोधेको प्रश्नमा पेलोसीले ‘आफुले कसैलाई पनि घृणा नगर्ने र यो महाभियोग संसदको संवैधानिक दायीत्व पुरा गर्न ल्याएको’ बताएकी थिइन् ।
गत बर्ष सभामुख चुनिएपछि पेलोसीले पार्टी भित्रकै अनेक दवावका बिच पनि महाभियोग अघि बढाउन मानेकी थिइनन् । राजनीतिक कारणले राष्ट्रपतिलाई महाभियोग लगाउन नहुने उनको तर्क थियो । तर दुई महिना अघि युक्रेन प्रकरण बाहिरिए पछि भने उनले महाभियोग सुरु गर्ने निर्णय गरिन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदले युक्रेनका लागि पारित गरेको झन्डै ४०० मिलियन डलरको सैन्य सहायता चार महिना अघि अचानक रोकि दिएका थिए । उक्त सहायता लिन युक्रेनले डेमोक्रेटिक नेता एवं पूर्व उपराष्ट्रपति जो बाइडेन माथि अनुसन्धान सुरु गरेको सार्वजनिक वक्तव्य दिनु पर्ने ट्रम्पको माग थियो । साथै बाइडेनका छोरा संलग्न बरिस्मा कम्पनीलाई पनि अनुसन्धान गर्न उनको माग थियो । ट्रम्पले व्यक्तिगत फाइदाका लागि राष्ट्रिय सुरक्षा र सरकारी बजेटलाई दाउमा राखेको थाहा हुने वित्तिकै पेलोसीले महाभियोगका लागि तयार भएकी थिइन् ।