अमेरिकी प्रहरीले मारेका जर्ज फ्लोइडको परिवारले २७ मिलियन डलर राहत पाउने

(Dave Schwarz/St. Cloud Times via AP)

मिनियापोलिस । अमेरिकामा प्रहरीले नियन्त्रणमा लिएपछि मारिएका जर्ज फ्लोइडको परिवारले २७ मिलियन अमेरिकी डलर राहत पाउने भएको छ । गत वर्ष मेमा अमेरिकी प्रहरीले नियन्त्रणमा लिइसकेपछि अमानवीय तरिकाबाट उनको हत्या गरेको थियो । उनी अफ्रिकी मुलुका अमेरिकी नागरिक हुन् । यो घटनापछि संसारभर अमेरिकामा हुने रंगभेदी विषयको कडा आलोचना भएको थियो ।

अमेरिकी शहर मिनियापोलिसको प्रशासनले फ्लोइडको परिवारलाई २७ मिलियन अमेरिकी डलर (३ अर्ब १८ करोड रुपैयाँ) राहत दिने घोषणा गरेको हो । त्यसअघि मिनियापोलिस नगर परिषद्को बैठकले यो प्रस्ताव पारित गरेको थियो । अमेरिकी प्रहरी अधिकारी डेरेक चौविनले आफ्नो घुँडाले घाँटी थिचेका थिए । यो भिडियो सडकमा हिड्नेहरुले खिचेर सामाजिक संजालमा राखेसँगै संसारभर अमेरिकाको आलोचना भएको थियो ।

फ्लोइड मृत्यु प्रकरणको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप समेत भएको थियो । अमेरिकाका विभिन्न सहरमा निषेधाज्ञा नै जारी गर्नु परेको थियो । ट्रम्प प्रशासनले यस मुद्दाका कारण ठूलो झट्का बेहोरेको थियो ।