वासिंटन डिसी । अमेरिका र चीनबीच लामो समयदेखिको गतिरोध अन्त्य गर्दै आज उच्चस्तरीय वार्ता हुँदैछ । दुबै मुलुकका राष्ट्रपतिबीच भर्चुअल माध्यमबाट वार्ता हुन लागेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति शी जिनपिंग वार्तामा सहभागी हुने छन् । यस वार्तालाई लिएर संसारभर चासो रहेको छ । अफगानिस्तानको मुद्दापछि दुबै मुलुकबीच औपचारिक संवाद भएको छैन । पछिल्लो समय जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा चिनियाँ राष्ट्रपतिको अनुपस्थितिलाई लिएर चर्को आलोचना समेत भएको थियो ।
तर, संसारका दुई शक्तिशाली मुलुकले गत साता संयुक्त रुपमा ग्लासगोमा जलवायु परिवर्तनको एक संयुक्त घोषणामा हस्ताक्षर गरेका थिए । पछिल्लो समय ताइवानको विषयलाई लिएर भने दुई मुलुकबीचको सम्बन्ध बिग्रिएिको छ । आजको वार्तामा साइबर सुरक्षा, व्यापार तथा परमाणु अप्रसारजस्ता मुद्दामा चर्चा हुन सक्ने अमेरिकी संचारमाध्यमले लेखेका छन् । जनवरीमा पदभार सम्हालेका राष्ट्रपति बाइडेनले शी जिनपिंगसँग दोस्रो पटक वार्ता गर्दैछन् ।