अमेरिकी संसद भवनमा भएको घटनाले स्तब्ध बनायो : देउवा

काठमाडौं । अमेरिकी संसदमा राष्ट्रपति ट्रम्प समर्थकले गरेको हंगामाको संसारभर आलोचना भइरहेको छ । यस घटनाबारे नेपाली नेतामध्ये नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो धारणा सार्वजनिक भएको छ । उनले बुधबार अमेरिकाको संसद भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

अमेरिकी संसद भवनको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको भन्दै उनले शान्तिपूर्ण सत्ता हस्तान्तरणको पक्षमा जोड दिएका छन् । अमेरिकी जनताले आफ्नो मत जाहेर गरिसकेको सन्दर्भमा अर्को सरकारलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्नु पर्ने उनको भनाई छ ।

सबै अमेरिकी नागरिकका आगामी दिन शान्तिपूर्ण होऊन् भन्ने कामना समेत देउवाले गरेका छन् । राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणित अमेरिकी संसदको संयुक्त बैठक बसेका बेला बुधबार ट्रम्प समर्थकले संसद भवनमा छिरेर तोडफोड गरेका थिए। हिंसामा परी कम्तिमा ४ जनाको मृत्यु भइसकेको छ ।