काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्ने तयारी थालेसँगै काठमाडौंमा आन्दोलन चर्किएको छ । बुधबार विभिन्न कम्युनिष्ट घटकले नेपाल बन्दको आह्वान गरेका थिए । त्यसको प्रभाव कम परेपनि एमसीसीको विरोधमा सत्ता गठबन्धन भित्रै भातृसंगठनले आन्दोलन चर्काएका छन् । यसले हिसात्मक रुप लिँदा प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।
सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संसदमा रहेका नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संसद बाहिर रहेका विप्लव नेतृत्वको नेकपालगायतका राजनीतिक दलहरु एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राम कार्कीलगायतका नेता नै बुधबार सडक प्रदर्शनमा देखिए ।
माओवादीको युवा संगठन वाईसीएल अध्यक्ष सुमन देवकोटा सामान्य घाइते भएको छन् । ५० मिलियन अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयनमा लैजानु अघि संसदमा अनुमोदन हुनुपर्छ । यो सम्झौता राष्ट्रघाती रहेको भन्दै व्यापक विरोध भइरहेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पेश गर्ने तयारी भएको विरोधमा कार्यकर्ता सडकमा उत्रिएका हुन् । उनीहरुले एमसीसी खारेजीको माग गरेका छन् ।
बानेश्वरमा संसद भवनतर्फ अघि बढेका प्रदर्शनकारी र प्रहरीबीच बुधबार झडप भएको हो । प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले ढुंगा र इँटा प्रहार गरेका छन् । प्रहरीले सय भन्दा बढीलाई पक्राउ गरेको बताएको छ ।