अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् । उनी तीनदिने नेपाल भ्रमणका सिलसिलामा बुधबार साँझ नेपाल आउन लागेका हुन् । उनी २९ कात्तिकदेखि माल्दिभ्सको भ्रमणमा छन् । सो मुलुकबाट उनी सिधै नेपाल आउन लागेका हुन् । नेपालमा एमसीसी अनुदान विवादित बनिरहेको समयमा पछिल्लो समय अमेरिकाबाट उच्चस्तरीय भ्रमण बाक्लिएको छ ।

यसअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमण गरिसकेकी छिन् । अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, रक्षामन्त्री मीनेन्द्र रिजाल, गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटवार्तामा व्यस्त रहने छन् । उनले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पार्टीका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने भएका छन् ।