अम्बानीलाई पछि पार्दै अडानी बने भारतकै धनी व्यक्ति, एलोन मस्क शीर्ष स्थानमा कायमै

काठमाडौं । भारतीय उद्योगपति तथा अदानी समूहका अध्यक्ष गौतम अडानीले मुकेश अम्बानीलाई पछि पारेका छन् । यसअघि भारतका सबैभन्दा धनी रहेका अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको सेयर मूल्यमा गिरावट आएसँगै अडानीले उछिनेका हुन् ।योसँगै उनी भारतका सबैभन्दा धनी व्यक्ति समेत बनेका छन् ।

शुक्रबार बिहान ११ बजेसम्मको तथ्यांक अनुसार गौतम अडानीको सम्पत्ति ९०.५ अर्ब डलर (६.७८ लाख करोड भारु) रहेको छ । यो अम्बानीको भन्दा १.३ अर्ब डलर बढी हो । योसँगै रिलायन्स इन्डस्ट्रिजका मालिक अम्बानीको सम्पत्ति ८९.२ अर्ब डलर (६.६९ लाख करोड भारु) रहेको छ ।

अम्बानीलाई उछिनेसँगै अडानी विश्वको दशौं धनी व्यक्ति बनेका छन् भने अम्बानी ११ औं स्थानमा पुगेका छन् । यसअघि अम्बानी विश्वका अर्बपतिहरुको सूचीमा दशौं स्थानमा थिए ।

रिपोर्टका अनुसार शुक्रबार सेयरमा आएको गिरावटका कारण अम्बानीको सम्पत्ति २.१४ प्रतिशत वा २ अर्ब डलरले घटेको छ ।

दुवै भारतीय धनाढ्यले फेसबुकका मालिकलाई उछिने

दुवै भारतीय धनाढ्यले सम्पत्तिमा फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई पछिपारेका छन् । फेसबुकको सेयर मूलयमा ठूलो गिरावट आएपछि जुकरवर्ग यी दुई भारतीय धनाढ्यभन्दा पछि परेका हुन् ।

ठूलो घाटा भएपछि विश्वका शीर्ष १० अर्बपतिको सूचीमा ठूलो उथलपुथल भएको छ । फेसबुकको मूल कम्पनी मेटाको सेयरको मूल्यमा भारी गिरावट आएपछि फेसबुकका मार्क जुकरबर्ग अब विश्वका अर्बपतिहरूको सूचीमा १२ औं स्थानमा पुगेका छन् ।

रिपोर्टका अनुसार उनको कुल सम्पत्ति ८४.८ अर्ब डलरमा झरेको छ । मेटाको स्टक २६ प्रतिशतभन्दा बढी घटेपछि फेसबुकका संस्थापक ३७ वर्षीय मार्क जुकरबर्गले एकै दिन ३१ अर्ब डलरभन्दा बढीको घाटा बेहोरेका छन् र जसका कारण उनी शीर्ष १० अर्बपतिको सूचीबाट बाहिरिएका छन् ।

फेसबुकको सेयर मूल्य एकै दिनमा ३१ अर्बले घटेको यो अहिलेसम्मकै कुनै पनि कम्पनीको मूल्यमा आएको दोस्रो ठूलो गिरावट हो । यसअघि गत वर्ष नोभेम्बरमा एलोन मस्कलाई एकै दिन ३५ अर्ब डलर घाटा भएको थियो ।

एलोन मस्क शीर्ष स्थानमा कायमै

विश्वका धनाढ्यहरुको सूचीमा उथलपुथल आए पनि शीर्ष स्थानमा एलन मस्क कायमै रहेका छन् । टेस्ला र स्पेसएक्स जस्ता कम्पनीका मालिक एलोन मस्क अझै पनि अर्बपतिहरूको सूचीमा पहिलो स्थानमा छन् । २३१ अर्ब डलरको सम्पत्तिका साथ मस्क विश्वका धनीहरूको सूचीमा शीर्ष स्थानमा छन् । यद्यपि, उनको कुल सम्पत्ति पनि बिहीबार ३.४४ अर्बले घटेको छ ।

विश्वका शीर्ष १० अर्बपतिको सूची हेर्दा फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्ट १६७ अर्ब डलरको सम्पत्तिसहित दोस्रो स्थानमा छन् । अमेजनका संस्थापक जेफ बेजोस तेस्रो नम्बरमा झरेका छन् । बिहीबार, उनको नेटवर्थ ११.९ ४ अर्बले घट्यो र १६४ अर्बको नेट वर्थको साथ उनी तेस्रोमा छन् । यसबाहेक माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्स १२९ अर्ब डलरसहित चौथो नम्बरमा रहेका छन् ।

१२७ अर्ब डलरको कुल सम्पत्तिका साथ ल्यारी पेज पाँचौं, गुगलका सह(संस्थापक सर्गेई ब्रिन (१२२ अर्ब डलर) छैटौं, वारेन बफेट (१०० अर्ब डलर) सातौं, स्टिभ बाल्मर (१०८ अर्ब डलर) आठौं र ल्यारी एलिसन (११२ अर्ब डलर) नवौं स्थानमा छन् ।