काठमाडौं । पछिल्लो डेढ वर्ष यता सुस्त रहेको अर्थतन्त्र क्रमशः सुधारोन्नमुख देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिना (कात्तिकसम्म)को अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।
अर्थतन्त्रको बाह्य क्षेत्रहरु गत वर्षको असोजदेखि लगातार सुधारोन्मुख थिए । बाह्य मजबुत अवस्थामा पुग्दा पनि आन्तरिक अर्थतन्त्रका सूचक भने झन्झन् शिथिल गएकामा पछिल्ला महिनामा क्रमशः सुधारोन्मुख भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
चालु वर्षको पहिलो त्रैमासदेखि आन्तरिक सूचकहरूमा पनि केही सुधारको संकेत देखाएको छ । राष्ट्र बैंकका अनुसार अर्थतन्त्रका मुख्य सूचकहरू विदेशी मुद्रा संचिति, व्यापार घाटा, शोधान्तरस्थिति, चालुखाता, रेमिट्यान्स आप्रवाह लगायत सूचकमा बलियो बनेको देखाएको छ ।
त्यसैगरी, मूल्यवृद्धि लामो सयमपछि नियन्त्रणमा आएको छ । यस्तै, सरकारको राजस्व संकलन, बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी, पूँजीगत खर्च लगातमा सुधार आएको देखिएको छ ।
राष्ट्र बैंक र सरकारले गत वर्ष आयातमा कडाइ गर्दा यस वर्ष अर्थतन्त्रको बाह्य सूचकहरू अहिलेसम्मकै मजबुत अवस्थामा छन् । तर, त्यसअनुसार अझै आन्तरिक अर्थतन्त्र भने चलायमान हुन सकेको छैन ।
बाह्य क्षेत्र बलियो बनाउन खोज्दा आन्तरिक अर्थन्त्रमा आएको संकुचनका कारण उद्योगधन्दा पूर्ण क्षमतामा संचालन हुन सकेका छैनन् भने औद्योगिक क्षेत्रमा नयाँ लगानी नगन्य मात्रमा छ ।
यद्यपि, अर्थतन्त्र चलायमान बनाउन भन्दै पछिल्लो समय सरकार र नेपाल राष्ट्र बैंकले निकै मेहनत गरिरहेका छन् । सरकारले घरजग्गा सहित अन्य क्षत्रका नीतिगत लचकता अपनाइ रहेको छ ।
त्यस्तै, राष्ट्र बैंकले हालै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंकदर, नीतिगत दर घटाउँदा ब्याजदर घटाउने नीति लिएको छ । त्यसैगरी, यसअघि कडाइ गरिएका घरजग्गा, सेयर, हायरपर्चेज लगायत कर्जा लगानी खुकुलो बनाउँदै लगेको छ । अहिले बैंकिङ प्रणालीमा अधिक तरलता रहेको र पछिल्लो समय गरिएका नीतिगत लचकताले आगामी महिनाहरु झनै सकारात्मक प्रभाव देखिने राष्ट्र बैंकले जनाएको छ ।
यस्ता छन् अर्थतन्त्रका मुख्य सूचकहरू
१. विदेशी मुद्रा संचितिको रेकर्ड : विदेशी मुद्रा संचिति बढ्दै गएको छ । हरेक महिना थपिँदो संचिति र लगानी वृद्धि नहुँदा मुद्रा संचितिले नयाँ रेकर्ड बनाउँदै लगेको छ ।
गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तसम्म १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै धेरै हो ।
यस्तै, अमेरिकी डलर संचिति ३ वर्ष यताकै धेरै १२ अर्ब ७५ करोड डलर पुगेको छ । विदेशी पर्यटकको आवगमन बढ्दा, रेमिट्यान्स वृद्धि र आयात घट्दा विदेशी मुद्रा संचितिमा सुधार आएको हो ।
आव २०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंककले जनाएको छ ।
२. रेमिट्यान्स आप्रवाह २६ प्रतिशतले बढ्यो : चालु आवको चार महिनामा रेमिट्यान्स आप्रवाहमा सुधार आएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भएर ४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो ।
३.चालु खाता र शोधनान्तर स्थिति बचतमा : यस अवधिमा चालु खाता र शोधनान्तर स्थितिमा सुधार आएको छ । राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३७ अर्ब ७९ करोडले घाटामा रहेको थियो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार शोधनान्तर स्थिति १४७ अर्ब ११ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको थियो
४ व्यापार घाटामा सुधार : चालु आवमा वैदेशिक व्यापार घाटमा सुधार आएको छ । अघिल्लो वर्षको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा ३.३ प्रतिशतले घटेर ४६१ अर्ब ९४ करोड रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा आयात निर्यात दुवै घटेको छ । कुल वस्तु आयात ३.८ प्रतिशतले कमी आई ५ खर्ब १२ अर्ब ५० करोडमा सीमित भएको छ । त्यस्तै, वस्तु निर्यात ७.७ प्रतिशतले कमी आई ५० अर्ब ५७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३३.३ प्रतिशतले कमी आएको
थियो ।
५. सरकारको खाता डेढ खर्ब बचतमा : चालु आवको कात्तिक मसान्तमा सरकारका खातामा डेढ खर्ब रुपैयाँ बचत रहेको छ । यस अवधिमा सरकारका विभिन्न खातामा रु.१५२ अर्ब ४० करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । गत असार मसान्तमा यस्तो मौज्दात रु.७१ अर्ब ९८ करोड मात्रै रहेको थियो।
६. २७६ अर्ब आम्दनी, ३५५ अर्ब खर्च : महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिकसम्म सरकारको कुल खर्च ३ खर्ब ५५ अर्ब ६३ करोड भएको छ । ससमीक्षा अवधिमा चालु खर्च २ खर्ब ७१ अर्ब १७ करोड, पूँजीगत खर्च २९ अर्ब ९९ करोड र वित्तीय व्यवस्था खर्च ५४ अर्ब ४७ करोड रहेको
छ ।
सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) २ खर्ब ७६ अर्ब ६४ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा १९.८ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ३.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व २ खर्ब ५४ अर्ब ३० करोड र गैर कर राजस्व २२ अर्ब ३४ करोड परिचालन भएको छ ।
७. बढ्यो निक्षेप संकलन र कर्जा लगानी : समीक्षा अवधिमा बैंकिङ व्यवसायमा पनि झिनो सुधार आएको छ । १५४ अर्ब ६१ करोड (२.७ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४६ अर्ब ७४ करोड (०.९ प्रतिशत) ले बढेको थियो ।
यस्तै, समीक्षा अवधिमा कर्जा लगानी २.१ प्रतिशतले बढेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ९९ अर्ब ४० करोडले बढेको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा ६८ अर्ब ५५ करोड (१.५ प्रतिशत)ले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०८० कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.४ प्रतिशतले बढेको छ ।
८. ब्याजदर सस्तिँदै
चालु वर्षमा बैंकको ब्याजदर सस्तिँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०७९ कात्तिकमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १०.८८ प्रतिशत रहेकोमा २०८० कात्तिकमा ४.३९ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ कात्तिकमा ८.५० प्रतिशत रहेकोमा २०८० कात्तिकमा ३.४७ प्रतिशत रहेको छ ।
चालु वर्षको कात्तिकमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.७४ प्रतिशत, विकास बैंकहरुको १२.०० प्रतिशत र वित्त कम्पनीहरुको १३.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको कात्तिकमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.६० प्रतिशत रहेको थियो।
२०८० कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.७६ प्रतिशत, विकास बैंकहरुको ९.११ प्रतिशत र वित्त कम्पनीहरुको १०.०२ प्रतिशत रहेको छ । २०७९ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.३२ प्रतिशत कायम भएको थियो। त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० कात्तिकमा वाणिज्य बैंकहरुको ११.९६ प्रतिशत, विकास बैंकहरुको १३.७० प्रतिशत र वित्त कम्पनीहरुको १४.४८ प्रतिशत रहेको छ । २०७९ कात्तिकमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत कायम भएको थियो।
९. महँगी नियन्त्रणमा
चालु वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११ प्रतिशतले बढेको छ ।
काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको छ । राष्ट्र बैंकले यस वर्ष ६.५ प्रतिशतभित्र मूल्यवृद्धि राख्ने लक्ष्य लिएको थियो । सोही अनुसार नियन्त्रण हुन नसकेको मूल्यवृद्धि पछिल्लो समय घट्दै गएको देखिन्छ ।
१०. विदेश जाने घटे
समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या भने २८ प्रतिशतले घटेको छ । गत वर्ष कात्तिकसम्म २ लाख ८४ हजार बढी विदेशिएकामा चालु वर्षमा घटेर २ लाख ५ हजारमा सीमित भएका छन् ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ रहेकोथियो ।