काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरिने पक्का भएको छ । नेकपा सचिवालयले राष्ट्रिय सभामा बामदेव गौतमलाई पठाउने निर्णय गरेसँगै खतिवडाको पदसमेत अब समाप्त हुने निश्चित भएको हो । राष्ट्रपतिबाट मनोनित हुने एउटा पद खाली रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रिय मन्त्री खतिवडालाई नै निरन्तरता दिने मुड बनाएर अन्तिम समयसम्म कसरत गरेका थिए । तर, उनको चाहनामा सचिवालय बाधक बनेको छ । अर्कोतर्फ बामदेव गौतमको चाहनाका कारण समेत प्रधानमन्त्रीको इच्छा पुरा हुन पाएन । यससँगै अब अर्थमन्त्री पद पुनः खाली हुने भएको हो ।
अर्थमन्त्री खतिवडाको कार्यअवधि भदौ २० मा सकिनेछ । उनी राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभामा आएका हुन् । सांसदको दुई वर्षे कार्यकाल गत फागुनमै सकिएको थियो । ६ महिना सांसद बीना समेत मन्त्री बन्न पाउने प्रावधानका कारण उनी मन्त्री दोस्रो पटक मन्त्री बनेका हुन् ।
खतिवडाले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् । कुल तीन वटा बजेट डा. खतिवडाले ल्याएका छन् । दुई तिहाई सरकारको अर्थमन्त्रीका रुपमा खतिवडासँग ठूलो अपेक्षा थियो । तर, उनी यो अपेक्षामा खरो उत्रन भने सकेनन् । अर्थमन्त्रीका रुपमा उनले विगतलाई निरन्तरता त दिए, तर सम्झनालायक काम भने गर्न सकेनन् ।