अर्थमन्त्री पुनले ल्याए हालसम्मकै ठूलो बजेट, १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन

अर्थमन्त्री पुन – बजेट प्रस्तुत काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुन मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै । तस्बिर: प्रदीपराज वन्त/रासस

काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् ।

यो हालसम्मकै ठूलो आकारको बजेट हो। यसअघि आव २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका थिए।

संघीय प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकमा मंगलबार उक्त बजेट प्रस्तुत गर्दै उनले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत बजेट विनियोजन गरेको जानकारी दिए।