अर्थ र संचार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामासागै रिक्त रहेको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले पाएका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रधानमन्त्रीले सम्हाल्ने गरी यी दुई मन्त्रालयको कार्यभार तोकिएको हो ।

शुक्रबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ ।

गत फागुनमा सांसद पद समाप्त भएका अर्थमन्त्री खतिवडा बीना सांसद पनि ६ महिना मन्त्री बन्न सक्ने संवैधानिक प्रावधानमा टेकेर पुनःअर्थमन्त्री बनेका थिए । राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल २०७६ फागुन २० गते सकिएको हो ।

त्यसै दिन राजीनामा दिएका खतिवडा २१ फागुनमा पुनः मन्त्री नियुक्‍त भएका हुन् । उनको आजै अर्थ र संचार मन्त्रालयमा बिदाई भयो । कठिन समयमा साथ दिएको भन्दै उनलाई आजै प्रधानमन्त्रीले समेत धन्यवाद दिएका थिए । खतिवडा ८ फागुन २०७६ यता संचारमन्त्रीको समेत जिम्मेवारीमा थिए ।