अर्थमन्त्रीले भने : बजेटमा सबैको अपनत्व छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबैको अपनत्व कायम हुने गरी सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरी आगामी आर्थिक वर्ष ०७९\८० को बजेट ल्याएको बताएका छन् । उनले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।

नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न विषयगत क्षेत्रका सरोकारवाला, टेलिफोनबाट दूरदराजका नागरिक र रौतहटका अल्पसंख्यक परिवारदेखी कर्णालीका जनजातीसम्मलाई प्रत्यक्ष सोधेर बजेट निर्माण गरेकाले सबैको अपनत्व रहेको बताए । ‘यो बजेट तपाईंहरुको हो, म त केवल प्रतिनिधि मात्र हुँ,’ उनले भने, ‘मेरो क्षमताले भ्याएसम्म सबैको विषयलाई सम्बोधन गर्नेगरी बजेट बनाएको छु, अब यसलाई सबै मिलेर कार्यान्वयन गरौं ।’

आम जनताले स्वामित्व लिन सक्ने गरी बजेट बनाएकाले कार्यान्वयन हुने र बजेटले लिएका उदेश्य हासिल हुने उनले विश्वास व्यक्त गरे । ‘संसदमा अहिले यसबारेमा विभिन्न प्रश्न उठेका छन्, बहस भइरहेका छन् । यसले बजेट कार्यान्वयनमा सघाउ पुग्ने मेरो अपेक्षा छ’ उनले भने । उनले कृषिलाई उत्पादन, रोजगारी र निर्यातको क्षेत्र भएकाले प्राथमिकता दिएर बजेटमा समावेश गरेको जानकारी गराए ।

कृषिमा संरचनागत सुधारको पहल लिएको र ढुवानीका लागि कृषि एम्बुलेन्स तथा बजारका लागि संकलन केन्द्रको विषय राखिएको उनले बताए । उनले किसानलाई उत्साहित गर्न, परिचय पत्र वितरण गर्न र कृषि पेशाप्रति आकर्षण बढाउन किसान पेन्सनको योजना अघि सारेको र यसलाई कार्यान्वयन गरेरै छाड्ने बताए ।

शिक्षामा बजेट बढाइएको र १२ कक्षा पास गरेका विद्यार्थी कुनै न कुनै सीप समेत सिकेर श्रम बजारमा आउने उनको दाबी छ । मुलुकमा कृषि वस्तुको ठूलो उत्पादन संभावना भएकाले प्रमुख खाद्य बाली, तरकारी र फुलफुलको ३० प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य राखिएको अर्थमन्त्री शर्माले बताए ।