आइतबारदेखि निरन्तर उकालो लागेको सेयर बजारमा सामान्य करेक्शन

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । यससाता आइतबारदेखि निरन्तर उकालो लागेको बजारमा आज सामान्य करेक्शन आएको हो ।

पछिल्लो दुई दिनमा नेप्से ११० अंकले बढेको थियो भने आज ९ अंक्ले करेक्शन आएको हो । आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४ अर्बले घटेर पौने ८ अर्बमा सीमित भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ९.०१ अंकले घटेर २९८५.५७ विन्दुमा आइपुगेको छ । आज २१९ कम्पनीको ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रुपैयाँ बराबरको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएको छ ।सामूहिक लगानी कोष समूह सबैभन्दा धेरै ६.२९ प्रतिशतले बढेको छ भने फाइनान्स समूह १.३७ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका २१९ कम्पनीमध्ये ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अरुण काबेली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ३९ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अरुण भ्याली २७ करोड र नेपाल इन्स्योरेन्स २४ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

घट्दो बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । लक्ष्मी उन्न्ति कोष र लक्ष्मी म्युचुअल फण्डको मूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै, वरुण र माउन्टेन हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने ग्लोबल आइएमई सम्मुनत स्कीम, एनआइसी एशिया ब्यालेन्स फण्ड, सानिमा इक्वीटी फण्ड, एनआइसी एशिया ग्रोथ फण्ड र सिटिजन्स् म्युचुअल फण्डको मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।