प्रभात भट्टराई / अमेरिका
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु विरुद्धको महाभियोग अनुसन्धानमा संसदीय समिति समक्ष उपस्थित भएर बयान दिन अश्विकार गरेका छन् । संसदको न्यायीक समितिले बुधबार उनलाई स्वयं वा वकिल मार्फत वयान दिन बोलाएको थियो ।
यस अघि सदनको इन्टिलिजेन्स कमिटीले गरेको अनुसन्धानमा आफुलाई वयानको मौका नदिएर एक पक्षिय आरोप लगाएको भन्दै ट्रम्पले विरोध जनाएका थिए । आफ्ना चुनावी सभाहरुमा नै महाभियोग अनुसन्धानलाई एक चटकको संज्ञा दिँदै आरोपीलाई प्रतिरक्षा गर्न नदिएको दावी गर्दै आएका थिए । इन्टिलिजेन्स किमिटीले बिभिन्न साक्षीहरुसँग वयान लिएर रिपोर्ट न्यायीक समितिमा पठाएपछि उक्त समितिले थप अनुसन्धान सुरु गर्न लागेको हो ।
ट्रम्पले अमेरिकी संसदले युक्रेनका लागि पारित गरेको झन्डै ४०० मिलियन डलरको सैन्य सहायता विना कुनै कारण रोकि दिएका थिए । त्यसको बदलामा उनले आफ्ना सम्भावित राजनीतिक प्रतिद्वन्दी जो बाइडेन माथि अनुसन्धान गर्न युक्रेनलाई उनले बिभिन्न च्यानल मार्फत दवाव दिएका थिए । साथै सन् २०१६ अमेरिकी को चुनावमा युक्रेनको पूर्ववर्ती सरकारको सम्भावित संलग्नता बारे पनि छानविन गर्न वर्तमान सरकारले सार्वजनिक प्रतिबद्धता जनाउनु पर्ने ट्रम्पको माग थियो । यी सबै घटनाले सन् २०२० को चुनावमा उनलाई फाइदा पुग्ने थिए । आफ्नो राजनीतिक र व्यक्तिगत फाइदाका लागि अमेरिकी करदाताले तिरेको बजेट दुरुपयोग गरेको भन्दै डेमोक्र्याटहरुले उनीमाथि महाभियोग प्रकृया अघि बढाएका हुन् ।
ट्रम्पले केही दिन अघि ट्विट गर्दै संसदीय अनुसन्धानमा आफुले लिखित वयान दिन सक्ने वताएका थिए । तर, यस्तो दावी उनले तात्कालिन ‘ड्यामेजका कन्ट्रोल’का लागि मात्र अघि सारेको हुनसक्ने विश्लेषकहरुको भनाइ अहिले सही सावित भएको छ । यसअघि पनि उनले सन् २०१६ को चुनावमा रसियन हस्तक्षेपबारे विशेष काउन्सिलर रोवर्ट मुलर समक्ष मौखिक वयान दिन तयार रहेको ट्विट गरेका थिए । तर, त्यो दिन कहिल्यै आएन ।
ट्रम्पको त्यही प्रवित्तिलाई विश्लेषण गर्दै राजनीतिक पण्डितहरुले उनी संसद समक्ष वयान दिन तयार नहुने बताएका थिए । ट्रम्प आफुमात्र होइन । अहिले सिंगो रिपब्लिकन पार्टी नै उनकै शैलीमा उत्रि सकेको छ । हाउस इन्टिलिजेन्स कमिटीले महाभियोग माथि गोप्य अनुसन्धान र साक्षीहरुलाई बन्द कोठामा वयान लिउन्जेल रिपब्लिकनहरुले पारदर्शिताको तीब्र वकालत गरेका थिए । तर, जब खुला सुनुवाइ एवं वहस सुरु भयो त्यसपछि पनि उनीहरुले अनुसन्धानलाई प्रकृया र साक्षीहरुमाथि तीब्र रोश प्रकट गर्न छोडेनन् ।
अहिले आएर इन्टिलिजेन्स कमिटीको वयान सकिएसँगै रिपब्लिकनहरुले आफैँ १२३ पृष्ठको रिपोर्ट लेखेका छन् । जसमा ट्रम्प निर्दोष रहेको दावी गरिएको छ । रिपब्लिकन वृत्तमा ट्रम्पको लोकप्रियताका कारण हाउस र सिनेट रिपब्लिकनहरु उनको समर्थनमा नतमस्तक जस्तै बनेका छन् । इन्टिलिजेन्स कमिटीको साता लामो खुला वयानको अन्त्यमा टेक्सासका रिपब्लिकन हाउस अफ रिप्रिजेन्टेटिभ विल हर्डले ट्रम्पले गल्ती गरे पनि महाभियोगनै लगाउनु पर्ने अपराध नगरेको बताएका थिए । अरु कुनै पनि रिपब्लिकन सभासदले त्यति पनि भन्ने साहस गरेनन् । मोडरेट रिपब्लिकन र स्वैच्छिक अवकाश घोषणा गरि सकेको कारण हर्डले महभियोगकै पक्षमा मतदान गर्ने डेमोक्र्याटहरुको अपेक्षा थियो । तर, उनले आफु ट्रम्पलाई पदमुक्त गर्न तयार नहुने संकेत गरि सकेका छन् ।
त्यसैले हाउसमा अन्तिम मतदान हुँदा ट्रम्पलाई पदमुक्त गर्ने पक्षमा कुनै पनि रिपब्लिकन सांसद तयार हुने संभावना देखिएको छैन । किनभने ट्रम्पलाई चुनौती दिएर आफु पार्टी राजनीतिमा टिक्न सक्ने साहस अहिले कुनै पनि रिपब्लिकनमा छैन । ट्रम्पप्रति केही आलोचक देखिएका जष्टिन अमासले चर्को आक्रमण खप्न नसकेर पार्टी त्यागेको घोषणा गरि सकेका छन् । सन् २०११ देखि रिपब्लिकन सभासद रहेका उनले २०१८ को निर्वाचन जितेपछि दल त्यागेका हुन् ।
अहिलेसम्म कोही पनि रिपब्लिकन सिनेटरले ट्रम्पको विपक्षमा अभिव्यक्ति दिएका छैनन् । हाउसबाट महाभियोग प्रस्ताव पास भए सिनेटले अन्तिम निर्णय गर्नु पर्ने हुन्छ । ६७ जना सिनेटरमा भोट हालेमा राष्ट्रपति पदमुक्त हुन्छन् । तर, अहिलेसम्मको परिदृश्यमा त्यो संभावना देखिएको छैन । उल्टो रिपब्लिकन सिनेटरहरु सन् २०१६ को निर्वाचनमा रसियाले नभइ युक्रेनले आक्रमण गरेको ट्रम्प दावीलाई बचाउ गर्न थालेका छन् । यसको कतैबाट पनि प्रमाण मिलेको छैन । रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले नै यो थ्योरी ट्रम्पलाई सिकाएको अमेरिकी मिडियाले जनाएका छन् ।
यसमा कुनै प्रमाण नमिले पनि सन् २०२० को चुनावमा ट्रम्प यही दावी दोहोर्याएर चुनाव जित्ने दाउमा छन् । किनभने अहिले रिपब्लिकन कार्यकर्ताहरुले ट्रम्पले जे दावी गरे पनि पत्याउने अवस्थामा देखिएका छन । यतिसम्मकी केही समय अघि सार्वजनिक एक मत सर्भेक्षण अनुसार बहुमत रिपब्लिकनले ट्रम्पलाई अब्राहम लिंकनभन्दा पनि राम्रो राष्ट्रपतिको संज्ञा दिएका छन् । जबकी अमेरिकी इतिहासमै लिंकनलाई सर्बोत्कृष्टमध्येका राष्ट्रपतिको रुपमा लिइन्छ । रिपब्लिकनको बलियो ‘बेस’को रुपमा कलेज शिक्षा नलिएका स्वेत पुरुषहरु रहेका छन् । उनीहरु ट्रम्पले आफुलाई देवदूतकै रुपमा दावी गरे पनि पत्याउन तयार छन् ।
यही कारण रिपब्लिकन भित्रबाट ट्रम्पप्रति बिद्रोह नभए सन् २०२० को चुनावमा त्यो प्रमुख मुद्दा हुनेछ । रिपब्लिकन भित्र असाध्यै लोकप्रिय रहे पनि आम अमेरिकीको नजरमा ट्रम्पप्रति विश्वास छैन । उनले राष्ट्रपतिको कार्यभार सम्हालेयता कुनै पनि विश्वासिला सर्भेक्षणमा उनले आफ्नो कामप्रति जनताको ५० प्रतिशत समर्थन पाउन सकेका छैनन् । आधुनिक राष्ट्रपतिय इतिहासमा यस्तो रेकर्ड हुने ट्रम्प पहिलो राष्ट्रपति हुन् ।
रिपब्लिकन बहुल सिनेटमा महाभियोग पारित भए पनि नभए पनि तल्लो सदन हाउसबाट भने त्यो अब अघि बढ्ने सकेको छ । न्यायीक समितिले बयान दिन ट्रम्प नआउने भएपछि युक्रेन प्रकरणमा उनको हर्कत बारे विभिन्न विश्वविद्यालयका कानून प्राध्यापकहरुलाई बुधबार छलफलका लागि बोलाएको छ । उनीहरुले ट्रम्पले रोकेको युक्रेनी सहायताबारे कानूनी राय दिनेछन् ।