काठमाडौं । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि बुधबार सात वटै प्रदेश सरकारले बजेट ल्याएका छन् । प्रदेश सरकारले कुल ३ खर्ब ५ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याएका हुन् । ६ वटा प्रदेशले चालु आर्थिक वर्षको तुलनामा बजेट बढाएर ल्याएका छन् भने कर्णाली प्रदेशले भने बजेट घटाएर ल्याएको छ । प्रदेशहरुले कृषि, रोजगारी, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा बजेट केन्द्रित गरेका छन् । प्रदेश नं १ ले ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्ष २०७८/७९ को तुलनामा ७ अर्ब रुपैयाँ बढी हो । मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोड रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँ धेरै हो ।
बागमतीले ७० अर्ब ९३ करोडको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँ बढीको हो । गण्डकी प्रदेशले ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आवको भन्दा करिब ५ अर्ब बढी हो । लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड रुपैयाँको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको भन्दा २ अर्ब रुपैयाँले बढी हो ।
कर्णाली प्रदेशले गत वर्ष भन्दा ४ अर्ब कमको बजेट ल्याएको छ । चालु आर्थिक वर्षमा ३६ अर्ब ५४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको कर्णालीले आगामी वर्षका लागि जम्मा ३२ अर्ब ६१ करोड रुपैयाँको बजेट ल्याएको हो । सुदूरपश्चिम प्रदेशले ३६ अर्ब ७४ करोड रुपैयाँको बजेट ल्याएको छ ।