काठमाडौं । नेपाल एयरलाइन्सले जापानको राजधानी टोकियो नजिकै रहेको नारिता विमानस्थलमा आजबाट उडान सेवा प्रारम्भ गर्दैछ ।
सोमबार बिहान १ बजेर २५ मिनेट जाँदा नेपाल एयरलाइन्सको जम्बो जहाज नारिताका लागि उड्दैछ । उक्त जहाजमा नेपालबाट २ सय ३७ जना यात्रु नारिताका लागि उड्दैछन् ।
जापानको नारिताबाट भने पुरै सीट भरेर यो जहाज नेपाल आउने भएको छ । यस जहाजमा २ सय ७४ जना यात्रु अट्न सक्ने क्षमता रहेको छ ।
नेपाल एयरलाइन्सले यसअघि जापानकै ओशाकामा उडान गरिरहेको थियो । तर, त्यहाबाट व्यापार राम्रो हुने सम्भावनासहित नारितामा उडान गर्न लागिएको हो ।
नेपाल एयरलाइन्सले एकतर्फी ३७ हजार रुपैयाँमा काठमाडौं जापान उडान गर्दैछ । यस रुटबाट कम्पनीले उच्च नाफा कमाउने लक्ष्य राखेको छ । नेपाल एयरलाइन्सको नारिता नवौं गन्तब्य हो ।
नेपाल एयरलाइन्ससँग अन्तराष्ट्रिय उडानका लागि अहिले कूल ४ वटा जहाज रहेका छन् ।
नेपाल सरकारले नेपाल एयरलाइन्सको जापान उडानका दौरान जापान र नेपाल कतै पनि औपचारिक कार्यक्रम भने नगर्ने भएको छ ।