आजबाट खुल्दैछन दशैं लक्षित सहुलियत पसल

काठमाडौं । आजबाट देशैभर दशैं लक्षित सहुलियत पसल संचालनमा आउने भएका छन् । सरकारले आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याउन लागेको हो । नजिकिएको दसैं, तिहार, छठ, ल्होसारसमेत पर्वमा उपभोक्तालाई बजार मूल्यभन्दा सस्तोमा सामान उपलब्ध गराउन सरकारले हरेक वर्ष यस्तो पसल संचालन गर्दै आएको छ ।

पसलमा खाद्यान्नलगायत सामग्री विक्री गरिने भएको छ । साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान र खाद्य संस्थानबाट यस्ता पसल चल्नेछन् । सुपथ मूल्यका यस्ता पसलमा नुन, चिनी, चामल, घ्यु, पनिर, तेल, दाल, मसला, चिया, चिउरालगायतका खाद्यान्न सामग्री विक्रीमा राखिने भएको छ ।

यस्ता सुपथ पसलमा निजी क्षेत्रले राखेको मूल्यभन्दा २ रुपैयाँदेखि १० रुपैयाँसम्म कम मूल्य पर्ने भएको छ । तीन वनै संस्थानका देशभर रहेका कार्यालय, डिपो, डिलरका साथै घुम्ती सेवा पसल र अनलाइनमार्फत् उपभोक्तालाई सेवा दिइने छ ।

कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, ललितपुर, थापाथली, जावलाखेल, भक्तपुरका साथै धुम्ती सेवा पसल र अनलाइनमार्फत् उपत्यकासहित अन्य ४९ स्थानमा यस्तो पसल चल्नेछ । दुग्ध विकास संस्थानका आउटलेट लैनचौर, न्युरोड, खुमलटार र तोकिएका अन्य स्थानमा पसल खुल्नेछन् ।

पसलमा नुन प्रतिकेजी १८, चिनी प्रतिकेजी ७० र घ्यु प्रतिलिटर ८ सय ७० रूपैयाँमा पाइने छ । नुन र चिनी प्रति परिवार ४ केजीका दरले मात्रै बिक्रि गरिने भएको छ । दाल, चामल, फापर, तिते फापर र सेतो केराउमा प्रतिकेजी ५ रूपैयाँ छुट हुने भएको छ । खसी, बोका, च्याङ्ग्रा र सिमीमा प्रतिकेजी १० रूपैयाँ छुट हुनेछ । यस्ता पसल ८ मंसिरसम्म खुल्नेछन् ।