आजबाट मलेसियामा बढ्यो कामदारको न्यूनतम पारिश्रमिक

काठमाडौं । मलेसियामा कामदारको न्यूनतम पारिश्रमिक आजबाट बढेको छ । यसबाट मलेसियामा रहेका करीव १ लाख ६० हजार नेपालीसहित ४० लाख विदेशी कामदारसमेत प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

मलेसिया नेपाली कामदारका लागि आकर्षक गन्तब्य मध्ये एक हो । यहाँ स्वदेशी र विदेशी सबै श्रमिकको न्यूनतम पारिश्रमिक बढाइएको हो ।

मलेसिया सरकारले १ जनवरी १ देखि श्रमिकहरूले न्यूनतम मासिक तलब १२ सय मलेसियन रिङ्गेट पुर्याएको छ ।

अब मलेसिया जाने नेपालीले न्यूनतम ३३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । अहिले मलेसियामा न्यूनतम तलब ११ सय रिङ्गेट (करीव ३० हजार रुपैयाँ) मात्र रहेको थियो ।

बढेको तलब मलेसियाको शहरी क्षेत्रका कामदारको हकमा मात्र लागू हुने उल्लेख गरिएको छ । यो मलेसियाका ५७ शहरबाट प्रारम्भ गरिदैछ ।

त्यसपछि क्रमशः सबै स्थानमा बिस्तारको तयारी रहेको छ ।

अहिले जोहोरबरु , इस्कन्डर, पुटेरी, अलोर सेटर, मेलाका बेर्सेजर्हा, पुलाउ पिनान्ङ, सेबेराङ पेराइ, इप्हो, शाह अलम, पेटालिङ जय, क्वाला तेरेन्गानु, कुचिङ उतरा, कुचिङ सेलेटन, मिरीकोटा किनाबालु, क्लालालम्पुर ,बाटु पहटजस्ता शहरमा काम गर्ने कामदारले यसको लाभ उठाउन सक्ने भएका छन् ।