काठमाडौं । आजबाट नेपाली रेलमा यात्रुले यात्रा गर्न पाउने भएका छन् । जयनगर–जनकपुर खण्डमा चल्ने रेलको शनिबार औपचारिक सञ्चालन गरिन लागेको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्ने छन् । नेपाल रेलवे कम्पनीका अनुसार शनिबार १२ बजेर २० मिनेटमा दुवै प्रधानमन्त्रीले भर्चुअल रुपमा नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर रेलको उद्घाटन गर्नेछन् । त्यसका लागि नेपालतर्फको सम्पूर्ण तयारी पूरा गरिएको छ ।
उद्घाटनपछि जयनगरबाट कुर्थाका लागि रेल गुड्ने छ । रेल नियमित रुपमा सञ्चालनमा आएपछि नेपालबाट भारत जान चाहने यात्रु र भारतबाट नेपाल आउने यात्रुका लागि पहिचान खुल्ने परिचय पत्र अनिवार्य लिएर हिँड्न सक्ने छन् । भारतबाट नेपाल आउने यात्रुले पनि आफ्नो पहिचान खुल्ने परिचय पत्र बोक्नु पर्ने छ । नपालको भूमिसम्म जान भने कुनै परिचय पत्र आवश्यक पर्दैन ।
दिनको दुईपटक जयनगरबाट रेल खुल्ने छ र कुर्थासम्मको ३५ किमि दूरीसम्म पुग्ने छ । एकपटमा एउटा रेलमा १ हजार ३५० यात्रुले यात्रा गर्न सक्छन् । रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको छ । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरिएको छ । एसी सिटका लागि भने जनकपुर–जयनगर ३५० र कुर्था–जयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको छ ।