काठमाडौं । आजदेखि नेपालमा सरकारी कार्यालय दुई सिफ्टमा सन्चालनमा आउने भएका छन् । मन्त्रिपरिषद्को निर्णय अनुसार पहिलो सिफ्ट विहान ८ बजेदेखि १ बजेसम्म हुनेछ । त्यसपछि पहिलो सिफ्टमा काम गरेका कर्मचारी घर जान सक्नेछन् । दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ । यो बेला अर्को सेट कर्मचारी आएर काम गर्नुपर्ने भएको छ । सरकारले लकडाउन शुरु गरेको ८३ दिनपछि देशभरका सरकारी कार्यालय आजबाट खोल्ने निर्णय गरेको हो ।
सडकदेखि कार्यालय र सेवामा समेत भिडभाड नहोस भनी दुई सिफ्टमा काम गर्न लागिएको हो । कर्मचारीहरुले भौतिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम गर्नु पर्ने भएको छ । यसअघि लकडाउनका कारण अत्यावश्यक कामबाहेक अन्य कार्यालयमा उच्च तहका कर्मचारी मात्र आउर आंशिक रुपमा मात्र संचालन गरिएको थियो ।
अब भने सबै कार्यालय र सेवा शुरु हुन लागेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सबै कार्यालय र कर्मचारीले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी आजबाट सबै सरकारी कार्यालयबाट सेवा सुचारु हनेछ । सेवाग्राहीको भिडभाड हुने कार्यालयमा टोकन प्रणाली अपनाउन, कार्यालय प्र्रवेश गर्नुअघि नै तापक्रम नाप्ने व्यवस्था गर्न आग्रह गरिएको छ ।
स्यानिटाइजरको प्रयोग र मास्क लगाउने लगायतका नियम पनि सेवाग्राही र कर्मचारीमा अनिवार्य गरिएको छ । बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा पनि आजबाट सञ्चालन हुँदैछन् । यसरी सञ्चालन हुनेमा गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र शिक्षण संस्थाका कार्यालयसमेत छन् । यी सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ ।
सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनसमेत आजबाट सञ्चालन हुन पाउने छ । उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ । यात्रुले अनिवार्य रुपमा मास्क र स्यानेटाइजरको व्यवस्था गर्नुपर्नेछ ।