काठमाडौं । आज देशभरका स्थानीय तहले बजेट ल्याउने दिन अधिकांश स्थानीय तहको बजेट सार्वजनिक भएको छ । महानगरपालिका र उपमहानगरपालिका सबैले बजेट ल्याए । ७५३ स्थानीय सरकारमध्ये कुन सरकारको बजेट सार्वजनिक भयो भन्ने तथ्यांक भने आइसकेको छैन ।
काठमाडौंमा एक महिनाको घर भाडा छूट दिने घरबेटीलाई वार्षिक बहाल करमा छूट, तीनकुनेमा बुद्ध पार्क निर्माणजस्ता नीति समेटेर महानगरपालिकाले १६ अर्ब ४२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । काठमाडौंले चालु आवमा बजेटमा राखेका केही असम्भव परियोजना भने अहिले झिकेको छ ।
मोनोरेल परियोजनालाई बजेटमा पारिएको छैन । काठमाडौंले कवाडीमा पनि कर उठाउने गरी बजे ल्याएको छ । पोखरामा शहरी सौन्दर्यलाई प्राथमिकता दिने गरी बजेट आएको छ । महेन्द्रपुलमा अत्याधुनिक पुल निर्माणको योजना समेत पोखरामा समेटेटिएको छ ।
विराटनगरले प्रजातन्त्र सेनानीलाई मासिक २५ सय रुपैयाँ भत्ता दिने गरी नीति तथा बजेट ल्याएको छ । भरतपुरले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा संयुक्त कोष स्थापना गर्ने भएको छ ।
ललितपुरले समेत शहरी सौन्दर्यलाई प्राथमिकता दिँदै विकासको जग वडा वडामा बसाउने घोषणा गरेको छ । वीरगञ्जले शिक्षामा पर्याप्त बजेट राखेको छ । ७५३ स्थानीय तहका बजेटमध्ये सबैभन्दा ठूलो काठमाडौंले ल्याएको छ ।
काठमाडौंसहित ६ वटै महानगरपालिकाको बजेट भने ३९ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।