आज ढल्केवर सवस्टेशनको उद्घाटन गर्न प्रधानमन्त्री पूर्वी तराई झर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र सिराहाको भ्रमणमा निस्कदैछन् । आज देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटन गर्ने कार्यक्रम छ । त्यस क्रममा प्रधानमन्त्री यी दुई जिल्लाको भ्रमणमा पुग्ने छन् । उनी नेपाली सेनाको हेलिकप्टरमार्फत् आज धनुषा जाने कार्यक्रम रहेको छ ।

धनुषामा डेढ घण्टा बिताउने कार्यक्रम रहेको छ । त्यसपछि उनी सिरहा जाने छन् । ढल्केवर सवस्टेशन धनुषामा पर्छ । धनुषामा उद्घाटन कार्यक्रम सकेपछि पुनः हेलिकोप्टरमार्फत उनी सिराह गएर त्यहाँबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान छन् । कूल ४००÷२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहेका छन् ।

यो सव स्टेशनबाट अब ९०० मेगावाट हाराहारी विद्युतलाई प्रसारण गर्न सम्भव हुनेछ । ढल्केबर सबस्टेशन बनेपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात–निर्यातका लागि पूर्वाधार तयार भएको नेपाल विद्युत प्राधिकरणको भनाई छ ।