काठमाडौं । आज नेपालमा महाभूकम्प गएको ५ वर्ष पुरा भएको छ । २०७२ साल वैशाख १२ गते करीव १२ बजे गएको भूकम्पमा परी ९ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो ।
गोरखाको बारपाकमा केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पबाट मुलुकले ७ खर्बभन्दा माथिको आर्थिक क्षति बेहोरेको थियो ।
त्यसबेला गोखरासहित कुल ३२ जिल्ला प्रभावित भएका थिए । १४ जिल्लालाई अतिप्रभावित जिल्ला घोषणा गरिएको थियो ।
भूकम्प स्मृति दिवसका उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन आह्वान गरेका छन् ।
कोरोना भाइरस विरुद्धको यस लडाइमाविनाशकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुने विश्वास प्रधानमन्त्रीको रहेको छ ।
प्रधानमन्त्रीका अनुसार निजी आवासतर्फ करिब पाँच लाख घरको पुनःनिर्माण सम्पन्न भएको छ । एक लाख ९० हजार घर पुनःनिर्माणको क्रममा छन् ।
हालसम्म नौ वटा एकीकृत बस्तीको पुनःनिर्माण सम्पन्न भईसकेको छ । थप ७० वटाको योजना स्वीकृत भई पुनःनिर्माणको क्रममा छन् ।
पाँच हजार ५९८ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । हाल ६६९ वटा स्वास्थ्य संस्थाको पुनःनिर्माण सम्पन्न भएको । १४५ पुनःनिर्माणको क्रममा छन् ।
सम्पदा क्षेत्रका १७० मध्ये १०१ सांस्कृतिक तथा पुरातात्विक सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । थप ५४ सम्पदा पुनःनिर्माणको क्रममा रहेका छन् । ३४९ सरकारी भवनको पुनःनिर्माण गरिएको छ र ४९ पुनःनिर्माणको क्रममा छन् ।
भूकम्पपछि असुरक्षित स्थानमा रहेका चार हजारभन्दा धेरै लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा व्यवस्था गरी नयाँ बसोबासको प्रबन्ध मिलाइएको छ ।
करिब नौ हजार भूमिहीन तथा सुकुम्बासीलाई जग्गाको व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण मिलाइएको छ ।
ऐतिहासिक धरोहरका रुपमा रहेका धरहरा र रानीपोखरीको अत्याधुनिक र सुन्दर पर्यटकीय गन्तव्यका रुपमा नयाँ निर्माण कार्य अघि बढेको छ । धरहराको दशौँ तल्ला ढलान भइसकेको छ ।
सम्पदा क्षेत्रमा पुनःनिर्माण सम्पन्न भएका र निर्माणको क्रममा रहेका गरी ९१ प्रतिशत प्रगति हासिल भएको प्रधानमन्त्रीको दावी छ ।
३२ जिल्लाका सम्पदाको पुनःनिर्माण ४३।७ प्रतिशत सम्पन्न भइसकेका छन् । काठमाडौँ उपत्यकाका सम्पदाको पुनःनिर्माण ५९ प्रतिशत सम्पन्न भएको छ ।