काठमाडौं । प्रतिनिध सभाको बैठकमा आजबाट एमसीसीबाट छलफल प्रारम्भ हुँदैछ । कांग्रेसले दावि गरे अनुसार अबको तीन दिन भित्रमा एमसीसी पास नभए यो अमेरिकाले फिर्ता लैजाने छ । सोहीकारण उसले बरु गठबन्धन तोडियोस, तर सबै उपाय लगाएर भए पनि एमसीसी पास गर्ने रणनीति बनाएको छ । एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको हो ।
बैठक आज १ बजे बस्नेछ । बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामशर्म समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा आएर सोही बैठकमा सरकारले एक दिनको समय मागेपछि संसद बैठक आजलाई सारिएको छ । एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुन सकेको छैन । बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार सक्रिय भए पनि कुनै सहमति भएको छैन ।
सत्तारुढ दलहरू विभाजित भएका छन्, गठबन्धन कायम रहने नरहने अनिश्चित छ । सत्तामै रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीकोविरुद्धमा छन् । जनता समाजवादीको उपेन्द्र यादव पक्ष पनि विपक्षमै देखिएपछि प्रधानमन्त्री देउवाले गठबन्धनलाई छोडेर एमालेसँगको छलफल अघि बढाएका छन् । पछिल्लो समय सरकार(नेपाली कांग्रेस र नेकपा एमाले, माओवादी र नेकपा एमालेबीच पनि पटकपटक छलफल र वार्ता भएको छ । तर, कुनै सहमति भइनसकेको नेताहरूले प्रतिक्रिया दिएका छन् ।