आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा

Photo : nexta

काठमाडौं\एजेन्सी । ग्रीसबाट लिथुआनियातर्फ उडेको र्‍यानएयरको जहाज आइतवार कैयौँ घण्टासम्म बेलारुसतर्फ मोडिएको घटनाप्रति अमेरिकाले कडा आपत्ति जनाएको छ । बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्रालयले यस्तो आपत्ति जनाएको छ ।

समाचारमा जनाएअनुसार विमानमा सवार एक पत्रकारलाई पक्राउ गर्न त्यसो गरिएको हो । अमेरिकाले बेलारुसको कार्यले विमानमा सवार अमेरिकी नागरिकसहितका यात्रुहरूको जीवन खतरामा पारेको भन्दै निन्दा गरेको हो । युरोपेली देशहरूले समेत बेलारुसमाथि राज्य आतङ्कको आरोप लगाएका छन्।

बीबीसीका अनुसार नेक्स्टा ग्रुपका पूर्वसम्पादक रोमन प्रोटासेभिचलाई हिरासतमा लिएपछि उक्त विमानलाई पुनः उड्न दिइएको छ । बेलारुसका सञ्चारमाध्यमका अनुसार उक्त जेट विमानमा बम भएको भन्दै मिग २९ लडाकू विमानहरूले घेरेर बेलारुसको राजधानी मिन्स्कमा जहाज ओरालेका थिए। तर जहाजमा बम थिएन ।

अन्ततः विमान उसको वास्तविक गन्तव्य लिथुआनियाको राजधानी भिल्नियसमा स्थानीय समयअनुसार राति सवा नौ बजे ओर्लियो । यो समय तोकिएकोभन्दा ७ घण्टा ढिलो हो । विमानमा रहेका यात्रुहरूले आफूहरूलाई विमान मिन्स्कतर्फ मोडिएको कारणबारे केही सूचना नदिइएको प्रतिक्रिया समेत दिएका छन् ।

बेलायती विदेशमन्त्री डोमिनिक राबले समेत बेलारुसको यस्तो हर्कतको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । बेलारुसकी विपक्षी नेता स्भेत्लाना तिखानोभ्स्कायाले प्रोटासेभिचको रिहाइको माग गरेकी छन्। उक्त विमान ग्रीसको एथेन्सबाट भिल्नियसतर्फ जाँदै गर्दा लिथुआनियाली सिमाना नजिकै पुगेपछि मिन्स्कतर्फ मोडाइएको समाचारमा उल्लेख छ । विमानमा १७१ जना यात्रु थिए ।