काठमाडौं । ट्वीटर र फेसबुकसहितका साइटले आफ्नो प्लेटफर्ममा प्रतिवन्ध लगाएसँगै अमेरिकाका पूर्वराष्ट्रपति तथा अमेरिकी धनाढ्य डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक संजाल खोल्ने भएका छन् । उनका सल्लाहकारले यस्तो जानकारी सार्वजनिक गरेको अमेरिकी संचारमाध्यमले लेखेका छन् ।
आगामी तीन महिना भित्र ट्रम्प आफ्नै लगानीको सामाजिक सञ्जालमार्फत सक्रिय भइसक्ने तयारीमा रहेको बताइएको छ । उनका सल्लाहकार जेसन मिलरले फक्स न्युजसँग यसको खुलासा गरेका हुन् । मिलरले यस्तो सामाजिक संजाल अन्य मिडियाको भन्दा फरक हुने समेत बताएका छन् ।
जनवरी ६ मा अमेरिकाको वासिङटन डिसीस्थित क्यापिटलमा भएको हिंसापछि ट्रम्पलाई फेसबुक, ट्विटर, स्नापच्याटसहितका सामाजिक संजालले एक्सेस दिएका छैनन् । युट्यूवमा समेत उनी प्रतिवन्धित छन् । हिंसा ट्रम्प समर्थकले गरेका थिए । जहाँ ५ जनाको मृत्यु भएको थियो । ट्रम्प सामाजिक संजालमा सक्रिय हुने भिभिआइपी मध्ये एक हुन् ।
राष्ट्रपति ट्रम्पका गतिविधिबारे आम नागरिकलाई उत्तिकै चासो हुने भन्दै आगामी दिनमा नयाँ प्लेटफर्ममा समेत उत्तिकै लोकप्रिय हुने उनका सल्लाहकारको भनाई छ । त्यसो त अन्य दर्जनौं कम्पनीले समेत ट्रम्पलाई आफ्नो प्लेटफर्म प्रयोग गर्न आह्वान गरिरहेको बताइएको छ । यसबारे ट्रम्पले निर्णय गरिसकेका छन् ।