काठमाडौं । पशुपति आर्यघाटमा बुधबार एकाएक एक सूचना टासिएको पाइयो । सूचना अनुसार पशुपति आर्यघाटमा दाह संस्कारको काम अनिश्चितकालका लागि बन्द गरिएको र सेवा अवरुद्ध भएको उल्लेख थियो ।
यो सूचनासँगै घाट सेवकहरुले दाहसंस्कार रोकेका थिए । आफन्त गुमाएको शोकमा पशुपतिना मन्दिरको पवित्र स्थलमा दाहसंस्कारका लागि पुगेका मानिस अलपत्र परेका थिए ।
तर, दिउँसो समस्या समाधान भयो । घाट सेवकहरुको आन्दोलनले उनीहरुको माग पूरा भयो । पशुपति क्षेत्र विकास कोष र सेवकहरुबीच घाटमा शव अन्त्येष्टि गर्दा लाग्ने शुल्क बढाउने सहमति भएको छ ।
अब शव दाह गरेको शुल्कमा ३ सय रुपैयाँ बढेको छ । पहिले १२ सय रहेको शवदाह शुल्क अब १५ सय पुगेको हो । त्यसैगरी दाउरा बोक्ने र शव बोक्ने शुल्कमा पनि २\२ सय रुपैयाँ बढेको छ ।
यसअघि यो शीर्षकमा चार \चार सय शुल्क लाग्ने गरेको थियो । त्यसैगरी चपरी बोक्ने शुल्क ३ सयबाट बढेर ४ सय रुपैयाँ पुगेको छ ।
दशनामीहरुका लागि शव गाड्न खाल्डो खन्ने शुल्क पनि १२ सयबाट बढेर १५ सय रुपैयाँ पुर्याइएको छ । बच्चाको शव गाड्न खनिने खाल्डोको शुल्क पनि २५ प्रतिशतले बढाइएको छ । पशुपतिमा यस्तो काम गरिरहेका सेवकको शुल्क ९ वर्षदेखि बढ्न सकेको थिएन ।
सेवकहरुले घाटमा आन्दोलन थालेपछि कोषले भने विद्युतीय शवदाह गृहको क्षमता बढाएर शव जलाउन थालेको थियो । विद्युतीय शवदाहगृहका दुईवटै मेसिन प्रयोगमा ल्याइएको थियो ।