उखुको मूल्य बढेसँगै उद्योगीले बढाए चिनीको मूल्य प्रतिकिलो १६ रुपैयाँसम्म

काठमाडौं । चिनी उद्योगीहरुले चिनीको मूल्य बढाएका छन् । उद्योगीहरुले उखुको मूल्य बढेको भन्दै चिनीको मूल्य प्रतिकेजी ८ देखि १६ रुपैयाँसम्म वृद्धि गरेका हुन् ।

उद्योगीले चिनीको मूल्य प्रतिकिलो ८२ रुपैयाँदेखि ९० रुपैयाँसम्म मूल्य तोकेका हुन् । यसअघि उद्योगीहरुले प्रतिकिलो ७२ देखि ७६ रुपैयाँसम्ममा चिनी दिँदै आएका थिए ।

उद्योगमै चिनीको मूल्य बढेसँगै अब खुद्रा बजारमा प्रतिकिलो १०० माथि पर्ने व्यापारीहरु बताउँछन् । यसअघि नै खुद्रा व्यपारीहरुले प्रतिकिलो ९५ रुपैयाँसम्ममा चिनी बेच्दै आएका थिए ।

सरकारले यो वर्ष उखुको मूल्य प्रतिक्वीन्टल ५५ रुपैयाँ बढाएर ५९९ रुपैयाँ पुर्याइएको छ । गत वर्ष उखु क्विन्टलको ५४४ रुपैयाँ ३३ पैसा रहेको थियो ।

उखुको मूल्य बढेसँगै लागत पनि बढेको भन्दै चिनी उद्योगीहरुले मूल्य बढाएका हुन् । उखुको मूलय बढ्दा प्रतिकेजी लागत ५ रुपैयाँ बढेको उद्योगीको भनाइ छ । एक क्वीन्टल उखुबाट ९ किलो चिनी बन्छ ।