काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यका भित्र लगाएको निषेधाज्ञा एक साता थप गरेको छ । भदौ ३ बाट सुरु भएको निषेधाज्ञा अब १७ भदौसम्म लम्बिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
यसअघि घोषित लकडाउनको आज अन्तिम दिन हो । अब १७ भदौ राती १२ बजेसम्म अहिलेकै प्रकृतिको निषेधाज्ञा जारी रहने भएको छ । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा तिब्र गतिमा संक्रमित बढेपछि मानिसहरुको आवतजावत नियन्त्रण गर्न निषेधाज्ञा जारी भएको हो ।
निषेधाज्ञा जारी भएपछि औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा मात्र घर बाहिर जान पाइन्छ । त्यससमयमा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्छ । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय र संचारबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।