काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले चार महिना भन्दा लामो समयदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको छ । तर, यसको कार्यान्वयन भने हुन सकेको छैन । हरेक दिन बिहान ट्राफिक प्रहरीले केही सवारी साधनलाई सडकमा थुनेर राख्ने गर्छ । त्यसपछि खुला भएको सडकमा निर्वाध सवारी गुडिरहेका छन् । तर, यसले सवारी साधन चालकलाई मनोवैज्ञानिक तनाव भने दिइरहेको छ । उता, व्यवसायी भने यो प्रावधान हटाउनु पर्ने पक्षमा छन् ।
यातायात व्यवसायी र मजदुरले अब जोर बिजोर प्रणाली नमान्ने चेतावनी समेत दिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीन वटा मजदुर ट्रेड युनियनले सिसिएमसी र डिसिसिएमसीलाई चिठी लेख्दै मंसिर २५ गतेसम्ममा जोर–बिजोर प्रणाली खारेज गर्न माग गरेका छन् ।
उनीहरुले माग पूरा नभए २५ गतेदेखि स्वतस्फूर्त रूपमा गाडी सञ्चालन गर्ने चेतावनी दिएका छन्। जोरबिजोर प्रणाली गर्दा गाडीमा भिड बढ्ने, कोरोना संक्रमण जोखिन झन् धेरै हुनका साथै मजदुर र व्यवसायी निकै समस्यामा परेको उनीहरुले बताएका छन् । अहिले सार्वजनिक सवारीमा समेत जोर बिजोर लागेपछि सडकमा निजी सवारीको चाप अधिक बढेको छ । यसले दुर्घटनाको जोखिम समेत बढेको छ ।