काठमाडौं । काठमाडौं उपत्यकामा खाद्यान्न तथा अत्यावश्यक वस्तुको होम डेलिभरी सेवा समेत अवरुद्ध भएको छ । खाद्यान्न तथा तयारी खाद्य वस्तु ग्राहकको मागअनुसार डेलिभरी सेवा दिँदै आएका सेवा प्रदायकका सञ्चालक र कर्मचारीले बिहीबार प्रहरीले धरपकड गरेको छ । सो क्रममा ५ जना संचालक र ८० जना कर्मचारी पक्राउ समेत परेका छन् ।
फूडमाण्डू, यूजी केक, निप एक्सप्रेस, किराना अनलाइन, भोज डिलजस्ता कम्पनीले ग्राहकको अर्डर अनुसार होम डेलिभरी सेवा दिइरहेका छन् । काठमाडौं उपत्यकामा अहिले निषेधाज्ञा जारी छ । निषेधाज्ञाको समयमा सवारी चलाएको तथा घर घर पुगेको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
प्रहरीले अब सेवा बन्द शर्तमा सहिछाप गरी पक्राउ सबैलाई छाडेको हो । बिहीबार दरबारमार्ग, महाराजगञ्ज, मालीगाउँ, तीनकुने, बानेश्वरलगायत स्थानबाट उनीहरु पक्राउ परेका थिए । ललितपुरको पुल्चोकबाट फूडमाण्डूका मनोहर अधिकारी, निप एक्सप्रेसका सञ्चालक संगम सिंह, यूजी केकी सञ्चालिका निकिता आचार्य तथा अर्का एक व्यवसायी आलोक योञ्जनलाई प्रहरीले पक्राउ गरेको थियो ।
यी कम्पनीहरुले आफ्नो भ्यान तथा मोटरसाइकलमा उपभोक्ताको अर्डर अनुसार घरमा सामान पुर्याउने गरेका थिए । आम मानिसलाई घर भित्र थुनेर राखेको समयमा अनलाइन र फोनबाट अर्डर गरी होम डेलिभरी गर्दा धेरै मानिसको भीड पसलमा हुने थिएन । तर, सरकारले त्यो बाटो समेत अब बन्द गरिदिएको छ ।