मेरिल्यान्ड । एक अमेरिकी वायुसेवाका भूतपूर्व विमान चालकले ककपिटमै अश्लिल हर्कत गरेको स्वयमः स्वीकार गरेका छन् । यो घटना गतवर्षको हो । जहाज उडिरहेको समयमा ककपिटमै अश्लील र अभद्र कार्य गरेको उनले अदालतसामु स्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ ।
माइकल हाक नामक ती पाइलटले विमानकी सहचालिकाको अगाडि ककपिटमै लुगा खोलेको र ल्यापटपमा अश्लील चलचित्र हेरेको विपक्षी वकिलहरुको आरोप थियो । साउथवेस्ट वायुसेवाको उडान जारी रहँदा ६० वर्षीय हाकले ककपिटमा थप अभद्र व्यवहार समेत गरेको आरोप लागेको छ ।
मेरिल्यान्डमा एक न्यायाधीशले हाकलाई ५,००० अमेरिकी डलर जरिबाना गर्नुका साथै एक वर्ष परीक्षणकालमा राख्न आदेश दिएको समाचारमा उल्लेख छ । यो घटना सन् २०२० अगस्ट २० को दिन फिलाडेल्फीयादेखि ओर्ल्यान्डोसम्मको उडानमा भएको हो ।
विमान सुरक्षित उचाइमा पुगेपछि हाक आफ्नो कुर्सीबाट उठेको, जानाजान लुगा खोलेको र ल्यापटपमा अश्लील चित्र र चलचित्र हेर्न थालेको बयानमा उल्लेख छ । विमानकी सहचालिकाले आफ्नो काम गरिरहँदा हाक भने अझै थप अभद्र व्यवहार देखाइरहेको सरकारी वकिलको कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाकले उडानअघि कहिल्यै ती सहचालिकालाई नभेको समेत बताइएको छ ।
अमेरिकाका सहमहकन्यायाधिवक्ता माइकल कनिङ्घमले सहचालिकाले त्यस्तो व्यवहार भोग्नु नपर्ने अधिकार रहेको बताएको एपी समाचार संस्थालाई उदृत गर्दै बीबीसीले लेखेको छ । सो घटना हुँदा विमान मेरिल्यान्डमाथि उडिरहेकोले त्यहाँ मुद्दा चलाइएको हो। हाकले सार्वजनिक स्थलमा अश्लील र अभद्र व्यवहार देखाएको स्वीकार गरेका छन्।
न्यायाधीश जे मार्क कल्सनले हाकको व्यवहारले सहचालिकालाई आघात पारेको र त्यसले यात्रुहरूको सुरक्षालाई खतरामा पार्न सक्ने बताएका थिए। फ्लोरिडाका हाक २७ वर्ष सो वायुसेवामा विमान चालक रहेर गत वर्ष अगस्टमा सेवा निवृत्त भएका छन् ।