काठमाडौं । नेपालमा एक महिनाको अवधिमा ५ हजार ५६१ जना अमेरिकी पर्यटक भ्रमणमा आएका छन् । यो संख्या देश अनुसार तेस्रो हो । नेपाल पर्यटन बोर्डका अनुसार जुलाई २०२३ मा कुल ५७ हजार ७२६ जना पर्यटक नेपाल आएका छन् । त्यसमध्ये भारतीय मात्र २१ हजार ३५७ जना आएका छन् । दोस्रो स्थानमा चिनियाँ नागरिक छन् । उनीहरुको संख्या ५ हजार ५९३ जना छन् ।
अमेरिकी पर्यटकको संख्या ५ हजार ५६१ जना रहेको बोर्डले जनाएको छ । जुलाई २०२३ मा सार्क मुलुकबाट मात्र कुल पर्यटकको ५० प्रतिशत हाराहारी पर्यटक आगमन भएको तथ्यांकमा देखिएको छ । भारतबाट २१ हजार ३५७, बंगलादेशबाट २६ सय ९६ जना, भुटानबाट ८०७ जना, श्रीलंकाबाट ४८४ जना र पाकिस्तानबाट ३७२ जना पर्यटक यो महिनामा नेपाल भ्रमणमा आएका छन् ।
एसियाका अन्य मुलुकमध्ये चीनपछि दक्षिण कोरियाबाट १३ सय ७५ जना पर्यटक आएका छन् । युरोपेली मुलुकमध्ये सबैभन्दा धेरै ३ हजार ६३० जना बेलायती पर्यटक नेपाल आएका छन् । अष्ट्रेलियाबाट १ हजार १०२ जना नेपाल आउँदा क्यानडाबाट ६५३ जना नेपाल आएको तथ्यांक छ ।
नेपालमा पछिल्लो सात महिनामा ५ लाख ३४ हजार २०७ जना पर्यटक आएका छन् । जुलाई २०२३ मा आएका ५७ हजार ७२६ पर्यटकसमेत जनवरीदेखि जुलाईसम्म यो संख्यामा पर्यटक नेपाल आएका हुन् । यस जुलाईमा कोभिड–१९ भन्दा अगाडिकै हाराहारीमा पर्यटक आगमन भएको छ ।
बोर्डका निर्देशक लामिछानेका अनुसार सन् २०१९ को जुलाईमा ५८ हजार ८११ जना पर्यटक नेपाल आएका थिए । त्यसयताका वर्षहरुलाई भने कोभिड–१९ ले नराम्रोसँग प्रभावित बनाएको थियो ।