एक महिनामा अमेरिकाबाट नेपाल भ्रमणमा आए १८६४ पर्यटक

काठमाडौं । अमेरिकाबाट एक महिनाको अवधिमा १ हजार ८६४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिना (सेप्टेम्बर २०२१)को अवधिमा सो संख्यामा पर्यटक नेपाल आएका हुन्.। नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२१ मा ९ हजार ८ सय ९८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस अवधिमा बेलायतबाट ४३८ र चीनबाट २३३ जना पर्यटक नेपाल आएको तथ्यांक छ ।

सन् २०१९ को सेप्टेम्बरका ९२ हजार ६ सय ४ जना पर्यटक नेपाल आएका थिए । गत वर्ष २०२० मा भने यो महिनामा मात्र ५८४ जना मात्र पर्यटक आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलपछि घटेको पर्यटक आगमन ५ महिनापछि केही सुधारिएको हो । अगस्ट महिनामा ५ हजार ९ सय १७ जना पर्यटक आएको बोर्डको तथयांकमा उल्लेख छ ।

नेपाल आएका विदेशीमध्ये सबैभन्दा बढी भारतीय छन् । भारतबाट एक महिनामा ३ हजार ५२३ जना पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट १ हजार ८६४, बेलायतबाट ४३८ र चीनबाट २३३ जना पर्यटक नेपाल आएका छन् । एक महिनाको अवधिमा सार्क मुलुकबाट ३ हजार ७३४, सार्कबाहेक एसियाली मुलुकबाट ५८५, यूरोपबाट १ हजार ७३३, अष्ट्रेलिया–न्यूजिल्याण्डबाट ८१, अमेरिकी महादेशबाट २ हजार १२५ र अन्य क्षेत्रबाट १ हजार ६४० जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

सन् २०२१ मा जनवरीमा ८,८७४ जना, फेब्रुअरीमा ९,१४६ जना, मार्चमा १४,९७७ जना, अप्रिलमा २२,४५० जना, मेमा १,४६८ जना, जुनमा १,१४३ जना, जुलाईमा २,९९१ जना र अगस्टमा ५,९१७ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।