एक वर्षमा नेपालबाट अमेरिकामा १३ अर्ब ७९ करोड बराबरको वस्तु निर्यात

काठमाडौं । नेपालबाट अमेरिकामा एक वर्ष (आर्थिक वर्ष २०७७\७८) मा १३ अर्ब ७९ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार तुलनात्मक रुपमा सन्तुलित अन्तर्राष्ट्रिय व्यापार भएको मुलुकमा अमेरिका पर्छ । नेपालको भारत र चीनसँग भने अत्यधिक व्यापार घाटा छ । नेपालबाट गलैचा, तयारी पोशाकसहितका सामान निर्यात हुन्छ ।

तथ्यांक अनुसार अमेरिकामा नेपालबाट १३ अर्ब ७९ करोड रुपैयाँको सामान गएको छ भने अमेरिकाबाट नेपालमा १९ अर्ब ५० करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारतसँग छ । आयात र निर्यात दुबै यसै मुलुकमा बढी रहेको तथ्यांक छ । यो आवमा भारतबाट कुल ९ खर्ब ७१ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु नेपाल आयात भएको छ ।

भारतमा नेपालबाट भने १ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भारतमा व्यापार घाटा ८ खर्ब ६५ अर्ब २३ करोड रुपैयाँ बराबरको छ । नेपालमा चीनबाट २ खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चीनमा भने मात्र १ अर्ब १ करोड रुपैयाँको सामान निर्यात भएको छ ।
कति भयो व्यापार ?
आर्थिक वर्ष २०७७\७८ मा नेपालले अहिलेसम्मकै बढी परिमाणमा वैदेशिक व्यापार गर्न सफल भएको तथ्यांक एक वर्षको अवधिमा करीव १६ खर्ब ८० अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो आंकडा आवको तुलनामा २९.८५ प्रतिशत बढी हो । २०७७\ ७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । निर्यातमा समेत उच्च वृद्धि देखिएको छ । यो आवमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँको भयो ।