काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष २०७८\७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र हुने प्रक्षेपण सार्वजनिक गरेको छ । सरकारले यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । एसियाली विकास बैंकले गएको अप्रिलमा गरेको ५.१ प्रतिशतको प्रक्षेपणलाई परिमार्जन गर्दै ४.१ प्रतिशतमा झारेको छ । महामारीका कारण पर्यटन क्षेत्रमा ठूलो असर पर्दा यसले धेरै आर्थिक गतिविधिमा असर पारेको भन्दै एडीबीले नेपालले खोप लगाउने गतिलाई बढाएमा केही सकारात्मक परिवर्तन आउन सक्ने उल्लेख गरेको छ ।
एसियाली विकास बैंकले नेपाल सरकारले ल्याएको बजेट विस्तारवादी भएको र स्वास्थ्य सेवाको हेरचाह, रोजगारी सिर्जना, गरिब तथा कमजोर वर्गमा सामाजिक सुरक्षाको विस्तार र कृषि उत्पादकत्व बढाउनमा केन्द्रित भएको समेत बताएको छ । पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण मुद्रास्फीति भने ५्२ प्रतिशत रहने बताएको छ ।