काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई २५ करोड अमेरिकी डलर (करीव ३० अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ ।
बैंकबाट २५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्राप्त हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
करीव ३ लाख डलर बराबरको अनुदान सहयोगमा स्वास्थ्य सामग्री प्रदान गर्न लागेको समेत मन्त्रालयले जनाएको छ ।
बुधबार अर्थमन्त्री डा. युवराज खतिवडा र एशियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावाबीच टेलिफोन वार्ता भएको थियो ।
उक्त अवसरमा अर्थमन्त्रीले अध्यक्ष आसाकावालाई सहायताका लागि धन्यवाद ज्ञापन गरेका थिए ।
अर्थमन्त्री खतिवडा र अध्यक्ष आसाकावा बीच कोभिड १९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोगबारे छलफल भएको मन्त्रालयको भनाई छ ।
सो अवसरमा अर्थतन्त्रमा पार्ने प्रभाव, एशियाली विकास बैकले नेपाललाई गरिरहेको सहयोग र आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैंकले गर्न सक्ने थप सहयोगका विषयमा छलफल भएको थियो ।
अर्थमन्त्रीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबाट ठूलो संक्रमण हुन नपाएको जानकारी गराएका थिए ।
एशियाली विकास बैंक नेपालको मुख्य विकास साझेदार रहेको बताउँदै बैंकले ऊर्जा, यातायात, खानेपानी र शहरी विकास लगायत ग्रामीण उद्यम क्षेत्रमा गरेको सहयोगप्रति प्रशंसा अर्थमन्त्रीले गरेका थिए ।