काठमाडौं । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका लागि नयाँ कर निर्धारण गरेको छ । सर्वोच्चको आदेशसँग एनसेलका लागि कर कार्यालयले नयाँ कर निर्धारण गरेको हो ।
अब एनसेलले २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर तिरे पुग्ने भएको छ ।
ठूला करदाता कार्यालयले वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर तिर्नुपर्ने गरी कर निर्धारण गरेको थियो ।
एनसेलले यसअघि २१ अर्ब ५४ करोड तिरिसकेको थियो । त्यसकारण त्यो रकम घटाएर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ तिर्नुपर्ने कर कार्यालयको ठहर थियो ।
उसको यस कर निर्धारणविरुद्ध एनसेल अदालत पुगेको थियो । सर्वोच्चले भने ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा १२० (क) अनुसार लगाएको ५० प्रतिशत शुल्क सर्वोच्चले खारेज गर्दै नयाँ कर तोकिदियो ।
अदालतले एनसेलबाट तिर्नुपर्ने कर २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ कायम गरिदियो ।
फैसलामा यो रकममा ब्याजसमेत जोड्न पाउने भनिएका कारण २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिएको हो ।