काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पल ३० खर्ब अमेरिकी डलर बजार मूल्य भएको विश्वकै पहिलो कम्पनी बनेको छ । एप्पलको सेयर मूल्य बढेर बजार मूल्य ३० खर्ब डलर पुगेसँगै नयाँ रेकर्ड राखेको हो ।
अमेरिकी स्टक एक्सेन्चको तथ्यांक अनुसार नयाँ वर्षको पहिलो दिन एप्पलको सेयर ३ प्रतिशतले बढी १८९.८८ अमेरिकी डलर पुगेको थियो । यो हालसम्मको सबैभन्दा उच्च स्तर हो । यद्यपि, मार्केट बन्द हुनु अघि यसमा थोरै गिरावट आयो ।
तीन वर्ष अघि कम्पनीको बजार मूल्य १० खर्ब थियो । पछिल्लो दुई वर्षमै कम्पनीको बजार मूल्य तेब्बरले बढेको हो । अर्थात्, २ वर्षमा एप्पलको बजार मूल्य २० खर्ब डलर थपिएको हो ।
एप्पलको बजार मूल्य भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आकारभन्दा पनि ठूलो हो । हाल भारतीय अर्थतन्त्रको आकार २६ खर्ब डलर रहेको छ । एप्पलको समग्र बजार मूल्य विश्वका प्रमुख १० ठूला अर्थतन्त्र भएका मुलकमध्ये ६ वटा देश बेलायत, भारत, फ्रान्स, इटाली क्यानडा र दक्षिण कोरियाको भन्दा ठूलो हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार कम्पनीका भर्चुअल रियालिटी तथा स्वचालित कारलगायत सबैभन्दा बढी बिक्री हुने उत्पादनका कारण लगानीकर्ताहरु आकर्षित भएका हुन् ।
एप्पल कोभिड तथा लकडाउनमा सबैभन्दा बढी कमाउनेमध्ये एप्पल परेको छ । लकडाउनमा विशेषगरी मानिसहरु स्मार्टफोन, ट्याबलेट तथा ल्याउपटमा निर्भर रहेकोले यस्ता उत्पादनको माग बढेको थियो ।
एप्पलको विशेषगरी आइफोनले विक्रीको आधा हिस्सा ओगटेको छ । जबकी यसको आइप्याड, म्याक तथा ट्यावलेटको कारण बढी चर्चामा छ ।