एमसीसी पास भएको विरोधमा सुर्खेतमा दलका कार्यालयमा आगजनी, प्रशासनले लगायो कर्फ्यू

Photo : kantipur

सुर्खेत । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट पास भएको विरोधमा सुर्खेतमा हिंसात्मक प्रदर्शन भएको छ । पार्टी कार्यालयहरु तोडफोड र आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोधी प्रदर्शन चर्किएको हो ।

प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । प्रदर्शन नरोकिएको र तोडफोड भएसँगै प्रशासनले यस्तो कदम चाल्नु परेको बताएको छ ।


जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको छ । सोमबार बिहान ६ बजेदेखि नै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सडकमा नाराबाजी गरेका बन्दकर्ताले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।