काठमाडौं । नेपालमा एमसीसीमार्फत थप अनुदान दिन अमेरिकाले इच्छा देखाएको छ । मिलिनियम च्यालेन्जर कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएआइडी)मार्फत नेपालमा अनुदान थप्न अमेरिका इच्छुक भएको बताएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग बुधबारको भेटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डेयन आर थमसनले उक्त कुरा बताएका छन् । नयाँ परियोजनामा लगानी गर्न पनि अमेरिका तयार रहेको भेटपछि अर्थमन्त्री डा. महतले जानकारी दिए ।
“आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ,” उनले भने, । भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा पनि छलफल भएको थियो । बुधबार नै एसियाली विकास बैङ्कको नेपालका लागि राष्ट्रिय निर्देशक आर्नो कोस्वासँग पनि भेट गर्दै अर्थमन्त्री महतले नेपालको विकासका लागि दातृ निकायबाट थप सहयोगको अपेक्षा राखेको बताएका थिए ।