काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनको दुई दिनपछि १५ बुँदे असहमति प्रस्तुत गरेका छन् ।
आइतबार एमालेको धारणा सार्वजनिक गर्दै विज्ञप्तिमार्फत ओलीले देउवा नेतृत्वको सरकारले ६ महिनामा नै मुलुकलाई गहिरो संकटतर्फ धकेलेको आरोप लगाएका हुन् ।
एमालेले पूर्ववर्ती सरकारले ल्याएको बजेटलाई विस्थापित गर्दै ल्याइएको बजेटले विकासका कार्यहरु ठप्प भएको टिप्पणी एमालेको छ ।
त्यस्तै राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार मुलुक थप आर्थिक रुपमा संकटतिर धकेलिएको संकेत गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमार्फत ओलीले भनेका छन्, ‘स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेका गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ वैशाखमा गर्ने कार्ड फयाँकेका छन्।
यो प्रस्ताव कुनै असल मनशायले होइन, स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्योल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको हो भन्नेमा नेकपा (एमाले) स्पष्ट छ।’
एमाले गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा रहेको उल्लेख गर्दै आज पनि यो मान्यतामा अडिग रहेको बताएका छन्। ‘हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं ।
साथै, हाम्रो स्पष्ट अडान छ। यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन’ ओलीले भनेका छन्।
संविधानले स्थानीय तहहरूको रिक्तताको परिकल्पना नगरेको हुनाले स्थानीय तहहरू जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सबैभन्दा नजिकको सरकारको भूमिकाले तोकेकै समयमा निर्वाचन गर्नुपर्ने बताएका छन्।