वासिंटन डिसी । ओमिक्रोन नामक कोरोना भाइरसको नयाँ मेरियन्टबाट बच्न अमेरिकाले यात्रामा कडा नियमहरू लगाएको छ । बीबीसीका अनुसार राष्ट्रपति जो बाइडनले यस्तो नियम सार्वजनिक गरेका छन् । यद्दपी उनले लकडाउन भने नगरिने बताएका छन् । खोपसम्बन्धी यसअघिको निर्णयमा समेत परिवर्तन नहुने भएको छ । न्यू योर्क राज्यमा पाँच जना र मिनेसोटा र कोलोराडोमा अहिलेसम्म ओमिक्रोनको सङ्क्रमण एकएक जनामा पुष्टी भइसकेको छ ।
अमेरिकामा बुधवार क्यालिफोर्निया राज्यमा पहिलो ओमिक्रोन सङ्क्रमण देखिएको थियो । स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षण मात्र देखिएको बताएका छन्। उक्त भेरिअन्ट अहिलेसम्म कम्तीमा २३ वटा देशमा देखिइसकेको छ। दक्षिण अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि
अति उत्परिवर्तिन ओमिक्रोन बढी सङ्क्रामक छ वा खोपले काम नगर्ने जोखिम बढी छ भन्ने अझै स्पष्ट भइसकेको छैन।
बिहीवार सार्वजनिक गरिएको विवरण अनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घन्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ। यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागु हुन्छ। विमान, रेल वा बसमा चढ्दा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम मार्च महिनासम्मका लागि लागु गरिएको छ। अमेरिकी सरकारले निजी बिमा कम्पनीको माध्यमबाट लाखौं मानिसलाई घरमै बसेर कोरोनाभाइरसको निस्शुल्क परीक्षण गर्ने व्यवस्था गर्न खोज्दैछ।
बिमा गरेका मानिसहरू बाहेकका हकमा भने स्वास्थ्य केन्द्र र ग्रामीण क्षेत्रमा रहेका क्लिनिकमार्फत् त्यस्तो सुविधा दिइनेछ। प्रशासनको योजना अन्तर्गत हिउँद महिनामा वयस्क मानिसहरूलाई बुस्टर खोप लगाउन प्रोत्साहन गरिने भन्ने समेत रहेको छ । चार करोडभन्दा बढी अमेरिकीहरूले बुस्टर खोप पाइसकेका छन्। तर बाइडनले भने १० करोड थप मानिस बुस्टरका लागि योग्य भएको तर उनीहरूले लिन बाँकी रहेको बताए ।
बालबालिका र किशोरकिशोरीमाझ खोप लगाउने दर बढाउने प्रयास स्वरुप देशैभरि सयौँ परिवार खोप क्लिनिकहरूको व्यवस्था गरिनेछ। अमेरिकासहित थुप्रै अन्य देशहरूले आठवटा दक्षिण अफ्रिकी देशहरूमाथि यात्रा प्रतिबन्ध लगाएका छन्।