ओमिक्रोनसँग जुध्न अमेरिकाको तयारी, ५० करोड र्‍यापिड कीट नि:शुल्क बाँड्ने

वासिंटन डिसी । अमेरिकाले कोरोना भाइरसको नयाँ भेरियन्ट आमिक्रोनविरुद्ध लड्न नयाँ योजना सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले ओमिक्रोन भेरियन्टको फैलावटसँग जुझ्न ५० करोड र्‍यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । मङ्गलवार सम्बोधनका क्रममा उनले मुलुक भित्र अब परीक्षणलाई तीव्रता दिने बताए । साथै अस्पतालहरूमा सेनाले सहयोग गर्ने उल्लेख गरेका छन् ।

लकडाउनबारे भने कुनै तयारी नरहेको उनको भनाई छ । अहिले अमेरिकामा ओमिक्रोन भेरियन्ट तिब्र रुपमा फैलिरहेको छ । पुष्टि भएका नयाँ सङ्क्रमितमध्ये झन्डै दुई तिहाइमा यो भाइरस देखिएको छ । सुरुमा दक्षिण अफ्रिकामा पहिचान भएको ओमिक्रोन भेरिअन्ट हाल विश्वव्यापी रूपमा फैलिएको छ। अमेरिकामा ओमिक्रोनका कारण हालसम्म एक जनाको मृत्यु भइसकेको छ । यद्दपी यो भाइरसबाट मृत्युदर भने कम रहेको छ ।

७३ प्रतिशत वयस्क अमेरिकीहरूले खोपको पूर्ण मात्रा प्राप्त गरिसकेका छन् । मङ्गलवार बाइडनले पुनः आफूलाई जोगाउन र खोप लगाउन आग्रह गरेका छन् । ओमिक्रोनले न्युयोर्क र वासिङ्टनसहित कैयौँ अमेरिकी सहरहरूमा चिन्ता बढाएको छ । यहाँ परिवार सदस्यहरूसँग भेट्नुअघि सर्वसाधारण परीक्षण गराउन लामबद्ध भएको देखिएको बीबीसीले लेखेको छ ।