काठमाडौं । करीव २० लाख मूल्य बराबरको डिजेल बोकेर बाराको अम्लखेगन्जबाट विराटनगर आइरहेको ट्यांकर अपहरण भएको छ ।
आइतबार रातको १ बजे सिराहा, लहानस्थित पूर्वपश्चिम राजमार्गको हुलाक कार्यालय अगाडिबाट ट्यांकर अपहरणमा परेको हो । ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको नेपाल आयल निगमले जनाएको छ ।
यो ट्यांकर ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा दर्ता छ । निगमका अनुसार ट्याकंर राजमार्गको छेउँमा रोकेर चालक र सहयोगी आराम गरिरहेका थिए । त्यही समयमा ट्यांकर अपहरणमा परेको हो ।
ट्यांकर अपहरणमा परेको भन्दै चालक मंगलबार बिहान १० बजे कार्यालय आएर मौखिक जानकारी गराएका थिए । त्यसपछि निगमले छानविन तथा खोजी तिब्र बनाएको छ ।
यसका लागि स्थानीय प्रहरी निकायसँग समेत समन्वय भइरहेको निगमको भनाई छ । यस ट्यांकरमा २० हजार लिटर डिजल थियो ।
विराटनगर डिपोका अनुसार चालकहरुले दिएको बयानमा ६्७ जनाको समूहले उनीहरुलाई जंगलमा छाडेर ट्यांकर लगेर भोगेको हो ।
आइतबार राति खाना खाएर ट्याकंर चालक रामदेव यादव र सह चालक उमेश यादव ट्यांकरमा सुतेको बयान चालकले दिएका छन् । नकावधारी समूहले चालक र सहचालकको आँखामा पट्टी बाँधेर जंगलमा छाडेका थिए ।